arrow

चार लाख बढी भक्तजनले हेरे डाेलेश्वरकाे श्रावणी मेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
doleshower-temple.jpg
फाइल तस्बिर

भक्तपुर । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला सम्पन्न भएको छ । साउन १ गतेदेखि सुरु भएको मेला बिहीबार समापन भएको हो ।

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

बिहीबार बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएकोमा आज १५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको बताए ।

उनले मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्ने व्यवस्था गरेको बताए ।

साउने मेलामा नेपाल, भारतलगायत देशका भक्तजनको आगमन भएको भन्दै भारतीय भक्तजन हरेक वर्ष बढ्दै गएको समिति महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको जानकारी दिँदै उनले ३८ दिने साउनको चार सोमबारमा दैनिक ५० हजारभन्दा बढी भक्तजनको आगमन भएको जानकारी दिए ।

श्रावणी मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समिति सचिव कविराम थापाले जानकारी दिए । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको उनले जानकारी दिए । यस अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ३८ दिनसम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको र कुनै झगडा एवं विवादविना नै सम्पन्न भएको बताए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक मन्दिर नगरपालिका मात्रै नभएर देश तथा विदेशका पनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बताए ।

धार्मिक तथा पर्यटकीय रुपमा पनि महत्त्व बोकेको मन्दिरको स्थापना दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने गरेको नगरप्रमुख थापाले बताए ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले मेलाले मन्दिर नजिक बस्ने नगरवासीको स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरी आर्थिक विकासमा मद्दत पुर्‍याएको बताइन् ।

वडाध्यक्ष पुष्पराज बस्नेतले स्वयंसेवक, स्वास्थ्यकर्मी साथै सबैको सहयोगले नै मेला सम्पन्न भएको भन्दै मेलाकै अवसरमा आयोजित रक्तदान शिविरमा पाँच सय जनाभन्दा धेरैले रक्तदान गरेको बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ