arrow

नबिल बैङ्कको विशेष साधारणसभा सम्पन्न, "८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
nabil-special-agm-2024-2081.jpg

काठमाडौँ। नबिल बैङ्कको विशेष साधारण सभा बैङ्कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा हिजो सोमबार सम्पन्न भएको छ। उक्त विशेष साधारण सभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।

बैङ्कको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशनका सर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृति पश्चात् जारी हुने गरी रु ५ अर्ब रुपैयाँ बराबरको  “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्ताव पेस गरेकोमा विशेष साधारण सभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो।

बैङ्कका अध्यक्ष पौडेलले बैङ्कलाई यो उचाइमा पुर्‍याउनमा शेयर धनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए। आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैङ्कको उचाइलाई थप बढाउनेतर्फ शेयर धनी लगायत सरोकारवाला पक्षहरूको महत्त्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैङ्क विश्वस्त रहेको उनले सभामा जानकारी गराए।

सभाले पारित गरेको नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयर धनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ। साथै यो नेपाली पुँजी बजारका लागि नविनतम् पुञ्जी उपकरण भएकाले नेपाल राष्ट्र बैङ्कले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैङ्कले नै पहिलो पटक विशेष साधारण सभाबाट पारित गरेर जारी गर्न लागेको हो। सम्बन्धित नियामयकी निकायहरूको अन्तिम स्वीकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार सेयर” जारी हुनेछ।

दिगो बैङ्किङलाई जोड दिँदै आएको नबिल बैङ्कले देशको अर्थतन्त्रको पछिल्ला परिदृश्यहरूलाई मध्यनजर गर्दै नेपालको बैङ्किङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैङ्कका रूपमा बारम्बार सम्मानित भएर योगदान पुर्‍याउन सफल भएको सभाध्यक्ष पौडेलले जानकारी दिए। त्यसै गरी सामाजिक उत्तरदायित्वमा समेत नबिल बैङ्क अघि रहेको तथा बैङ्कले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत बताए।

विगत चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणालाई आत्मसात् गरेको छ भने डिजिटल बैङ्किङको लागि एनबैङ्क सञ्चालनमा ल्याएको छ। यसले क वर्गका बैङ्कहरूमध्ये आफूलाई नेपालको अब्बल वाणिज्य बैङ्कको पहिचानलाई निरन्तरता दिन सफल भएको छ।

नबिल बैङ्कले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटिएम र २४ लाख भन्दा बढी सेवाग्राहीलाई देशव्यापी रूपमा सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने प्रण गरेको छ। बैङ्कको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयर धनी तथा सम्बद्ध सबै निकायहरूप्रति बैङ्कले आभार व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ