arrow

सञ्चारमन्त्री गुरुङको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति महँगो पर्दै, माफीसहित कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
prithivi-subba-gurung-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं एमाले नेता पृथ्वी सुब्बा गुरुङ आफ्नो अभिव्यक्तिका कारण समस्यामा परेका छन् । उनले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अभिव्यक्ति दिँदा गम्भीर भएर दिन सचेत गराएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङमाथि माफी माग्दै प्रधानमन्त्री ओलीलाई कारबाही गर्नसमेत माग गरिएको छ ।

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मन्त्री गुरुङलाई माफी माग्न भनेको छ भने प्रधानमन्त्री ओलीलाई कारबाही गर्नका लागि आग्रह गरेको छ ।

मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको भन्दै मन्त्री गुरुङलाई कारबाही गर्न माग गरेको हो । 

यस्ता प्रकारका भाषाले पूरै प्रहरी संगठनको मानमर्दन भएको मञ्चले उल्लेख गरेको छ । 

नौ जनाले हस्ताक्षर गरी पठाइएको विज्ञप्तिमा पदीय हैसियतमा मन्त्रीसँग सबैले शालीन, सुसंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुने भन्दै यसको विपरीत मन्त्री गुरुङले प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको प्रयोगले गुरुङको राजनीतिक कद घटाएको उल्लेख गरेको छ । 

मञ्चले मन्त्री गुरुङलाई उक्त वचन फिर्ता लिएर नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि माग गरेको छ । 

त्यस्तै मञ्चले प्रधानमन्त्री ओलीलाई मन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिइ आवश्यक कारबाही गर्न पनि अनुरोध गरेको छ । 

मञ्चले सुरक्षाकर्मीहरुलाई अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागिरहन ऐक्यबद्धतासहित अपीलसमेत गरेको छ । 

एमालेले यसअघि यस्तै किसिमको अपमानजनक भाषा प्रयोग गरेकै कारण तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ