arrow

गृहमन्त्री लेखकले पनि जनाए निर्मला पन्त प्रकरणलाई सूक्ष्म ढंगले अनुसन्धान गर्ने प्रतिवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
ramesh-lekhak-81-5-20.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । 

“यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ” उनले भने । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 

अपराध अनुसन्धानमा सबैभन्दा बढी र खर्चिलो अनुसन्धानको रुपमा रहेको निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अहिलेसम्म सुल्झिन सकेको छैन । छ वर्षयताका हरेक आईजीपीको घाँटीमा काँडाको रुपमा रहेको सो प्रकरणमा त्यसबेलादेखिका गृहमन्त्रीले निर्मलाले न्याय पाउने दाबी गरिरहँदा अहिलेसम्म कसैले पनि न्याय दिलाउन सकेका छैनन् ।  

यसअघिका गृहमन्त्री रवि लामिछानेले त आफ्नो पहिलो कार्यकालमा निर्मला पन्तकै प्रकरण सुल्झाउने भनी पहिलो निर्णय गरेका थिए । दोस्रो कार्यकालमा त उनले निर्मला पन्तको विषय उठान नै गर्न सकेनन् । 

उनी यो विषयमा कुरा गर्न पनि नचाहेको सुरक्षाकर्मीहरुले जनाएका छन् । प्रहरी आफैँले ब्रिफिङ गर्दा पनि उनले खासै चाँसो नदिएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।  

अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृहको छानबिन प्रतिवेदन एकातिर छ भने सरकार र प्रहरीको ध्यान अर्कैतिर मोडिएको छ ।

घटना भएको छ वर्षसम्म निर्मला पन्तका हत्याराबारे सरकारले यही व्यक्ति हो भनेर किटानी गर्न सकेको छैन । 

बिहीबार के के गरे कञ्चनपुरमा गृहमन्त्री लेखकले ?
त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’, उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । ‘दुई्तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ’ गृहमन्त्री लेखकले भने, ‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’  

पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ’ उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’ 

तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरेका छन् । त्यसैगरी उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ