arrow
ADVERTISEMENT

स्थानीयले तोकेका पर्यटन शुल्क खारेज गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
krishna-acharya-taan-gandaki.jpg

पोखरा । अघिल्लो वर्ष कास्कीको माछापुच्छ्रे गाउँपालिकाले कार्यपालिकाबाटै निर्णय गरेर पर्यटन शुल्क तोक्यो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई पाँच सय र स्वदेशी पर्यटकलाई एक सय रुपैयाँ तोकेको थियो । पछि सर्वत्र विरोध भएपछि गाउँपालिकाले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

अहिले फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेको छ । गाउँपालिका प्रवेश गर्ने विदेशी पर्यटकलाई एक हजार र स्वदेशी पर्यटकलाई दुई सय रुपैयाँ तोकिएको छ ।

गाउँपालिकाको यो निर्णयप्रति ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ ।

गाउँपालिकाको यो निर्णयले यहाँको पर्यटक अन्तै डाइभर्ट हुने खतरा बढ्ने टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यको दावी छ ।

उनले भने, ‘स्थानीय तहले आफूखुसी पर्यटन शुल्क तोक्दै जाँदा यसले पर्यटनमा ठूलै खतरा निम्त्याउँँछ ।’

‘पदयात्रा पर्यटन हुने १३ वटा पालिका छन्’, उनले भने, ‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटक आउँदैनन्, यहाँ आउने पर्यटक अन्तै डाईभर्ट हुने खतरा हुन्छ ।’

तेह्र वटा गाउँपालिकाले एक/एक हजार तथा टिम्सबापत पाँच हजार गरेर कुल १८ हजार थप तिरेर पर्यटक नआउने उनले बताए ।

अध्यक्ष आचार्यले भने, ‘निर्णय सच्चिनु पर्छ । यदि सच्चिएन भने यसले पर्यटनमा नराम्रो धक्का दिन्छ ।’

पर्यटनको राजधानी भन्ने अनि पर्यटक आउने वातावरण बनाउनुको सट्टा झन् खर्चिलो र बोझिलो बनाउने हो भने त्यसको असर पर्यटनमा पर्ने भन्दै उनले निर्णय तत्काल सच्याउन आग्रह गरे ।

पर्यटनको सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताउँछन् । यसले गर्दा आउने मुड बनाएका पर्यटक पनि नआउने उनको भनाइ छ ।

उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नुपर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको उनको टिप्पणी छ ।

यसैबीच टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गरिदिन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

टान गण्डकीको टोलीले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवर्द्धनमा जोड दिन आग्रह गरिएको छ ।

सो अवसरमा मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए ।
उनले सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने आश्वासन दिए ।

‘कोभिडका कारण व्यवसाय खत्तम अवस्थामा छ’, उनले भने, ‘यस्तो बेला पर्यटनमा सपोर्ट गर्ने कार्यक्रम ल्याउनुको सट्टा झन् समस्या पर्ने निर्णय गर्नु ठीक होइन, अहिले पर्यटन शुल्क भनेर लिने बेला नै होइन, यसमा मेरो ध्यानाकर्षण भयो, म बुझेर सच्याउन पहल गर्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ