- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालय स्तरीय विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए ।
‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानून निर्माणका लागि विधेयक अर्थ मन्त्रालय पठाइएको छ । अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने म कहाँ प्रस्ताव ल्याएर आउनुहोस् । मैले अगाडि बढाउँछु । पहिलो काम नीति र विधि बनाउने नै हो,’ उनले भने ।
नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने गृहमन्त्री लेखकको भनाइ थियो । ‘सुरक्षाको अनुभूति दिन दक्षजनशक्ति चाहियो । त्यसका लागि बजेट चाहियो । बजेट योजना आयोगसँग माग्नुपछ,’ उनले भने ।
गृहमन्त्री लेखकले गृहबाट अर्थमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे ।
‘दुवै विधेयकमाथि प्रधानमन्त्रीजीको उपस्थितिमा सकारात्मक र परिणाममुखी छलफल भएको छ । यसले कुनै आर्थिक भार पर्ने छैन’, उनले भने ।
यस्तै प्रत्येक महिना राजश्व संकलनको रेकर्ड मागेको भन्दै गृहमन्त्री लेखकले राजस्व बढाउन आफूले निरन्तर जोड दिएको बताए ।
बैठकमा योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सबै ठाउँमा स्रोतको सुनिश्चिता नहुँदै कार्यक्रम बनाउने समस्या रहेको बताए ।
यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनको काम अंकभन्दा पनि अनुभूतिमा गराउने विषय भएको बताए ।
बैठकमा मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव गोगन हमालले आर्थिक वर्ष २०८०–८१को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।