arrow

आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड : सभापति शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
shukraraaj-sharma.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा शर्माले यस्तो बताएका हुन् ।

‘कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ’, सभापति शर्माले भने, ‘२००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजाति इन्डियन, बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई जोडेर मुक्ति सेना निर्माण गरेर उनीहरुलाई अगाडि सारेर २००७ सालको आन्दोलनको प्रारम्भ भएको हो, त्यसैले आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो ।’

शर्माले कांग्रेस लोकतन्त्र, प्रजातान्त्रिक पार्टी भएकाले गलत गर्ने नेताको खुलेर विरोध गरेपनि पार्टीको निर्देशनमा चल्दै आएको दावीसमेत गरे ।

गण्डकी प्रदेशका अर्थमन्त्री एवं नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई सन्देश दिएको बताए ।

‘संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौँ, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई सन्देश समेत दिएको छ’, गुरुङले भने, ‘यस महासंघले नेपाली कांग्रेसको अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको छ ।’

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्ती मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे मागसमेत राखेको बताए ।

‘नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति केन्द्रिय महासंघले काठमाडौँमा दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो, त्यस कार्यक्रमबाट हामीले आदिवासी जनजाति समुदायको लागि १७ बुँदे माग पार्टीमा राखेका छौँ’, घर्तीले भने, ‘हामीले राखेको १७ बुँदे मागमा पार्टी सभापतिदेखि महामन्त्रीद्वयसँगसमेत छलफल गरेका छौँ, हामीले द्वन्द पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा माग राखेको छौँ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रीय समिति र जिल्ला समितिलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिलाई पदस्थापनसमेत गरिएको थियो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष जीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्धिबहादुर थापाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ