arrow

प्रतिनिधि सभामा चर्काचर्की

‘हिंसा’भन्ने शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने : माओवादीको आपत्ति, बैठक स्थगित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
maoist-samsad-05-25.jpg

काठमाडौँ । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसद्को अभिलेखबाट नहट्ने भएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द असंसदीय नभएको ठहर भएको बताए । उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए । उनले सो शब्द संसद्को अभिलेखबाट हटाउनु नपर्ने बताए । 

उनले भने – ‘२०८१ साल भाद्र १२ गतेको प्रतिनिधि सभा बैठकमा माननीय योगेश कुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गर्नुभएकोमा सो शब्द असंसदीय रहेकोले संसद्को अभिलेखबाट हटाइयोस् भनि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक माननीय हितराज पाण्डेसहितका माननीय सदस्यहरूले विषय उठान गर्नुभएकोमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा विषय, प्रसङ्ग र प्रस्तुतिलाई बिचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउनु नपर्ने ब्यहोरा जानकारी गराउँछु । साथै पछिल्ला बैठकहरूमा कतिपय सन्दर्भमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको पाइएको छ । माननीयज्युहरुलाई संसद्मा प्रस्तुत हुँदा शब्द चयनमा सचेतता अपनाउन आग्रह गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को व्यवस्था स्मरण गराउन चाहन्छु ।’

त्यसपछि नेकपा(माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आइतबारसम्म धकेलिएको छ । भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसद्को रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो । सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिएका थिए । सोही विषयको सन्र्दमा सभामुख घिमिरेले शब्द असंसदीय नदेखिएको भन्दै संसद्को रेकर्डबाट नहट्ने रुलिङ गरे । सो रुलिङ संविधान विपरीत भएको भन्दै माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाए । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले रुलिङको विरोध गर्ने बताए । संविधान विपरीत हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरूले त्यसलाई नमान्ने बताए । 

उनले भने – ‘हिंसाको विषयवस्तु संविधान विपरीत छ । कानून विपरीत छ । यस्तो किसिमको शब्द हुनुहुँदैन भनेर हामीले बारम्बार कुराकानी गरेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ? यसैले म फेरि पनि सचिवालयलाई संविधान, कानुनलाई हेरेर आफ्ना विषयवस्तुहरूलाई, निर्णयहरूलाई आग्रह गर्दछु । संविधान मुख्य विषयवस्तु हो । माओवादी जनयुद्ध बारे जसरी संविधानमा उल्लेख भएको छ । जसरी शान्ति प्रक्रियामा कुरा उठेका छन् । यसमा नियतको विषयवस्तुको कुरा छ । माननीयले त्यो दिन जनयुद्धलाई होच्याउने र जनमुक्ति सेनालाई अपमानित गर्नुभएको छ । जुन व्याख्या आएको छ यसमा हाम्रो दल विरोध गर्दछ । बेठिक भएको छ । संविधानभन्दा माथि कोही छैन ।’

लगत्तै नेकपा(एमाले)का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताए । उनले संसद्मा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताए । उनले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गर्नुभएको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताए । उनले भने – ‘हिंसा भन्ने शब्द आफैमा असंसदीय होइन । व्यक्तिलाई देखाएर भन्न पाइँदैन त्यो चाहिँ हो । आज सभामुखले जे रुलिङ गर्नुभएको छ, सभामुखको रुलिङमाथि पटक–पटक प्रश्न गर्नुपर्ने हाम्रो नियमावलीमा पाइँदैन । सभामुखले संविधान र कानूनसम्मत रुलिङ गरिसकेपछि त्यसलाई मानेर जाने हामी सबैको दायित्व हो ।’

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताए । उनले सो शब्द सच्याउन माग गरे ।

पुनः बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको रुलिङ संविधान विपरीत भएको भन्दै स्वीकार्य नहुने दोहोर्‍याए । उनले भने – ‘रुलिङ संविधान विपरीत । कानुन विपरीत । हामीलाई यो विषय स्वीकार्य छैन । संविधान बाहिर गएर व्याख्या गर्न मिल्दैन । संविधानको बर्खिलाप हुन्छ । यो हामीलाई मान्य छैन । यो विषय हुँदैन ।’

यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ