arrow
ADVERTISEMENT

प्रचण्डको भविष्यवाणीः उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले ब्याक हुन्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
prachanda-81-5-29r.jpg

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख ईन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईंहरुले वरीयता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ’, उनले भने । 

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भने, ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौँ ।’

अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नहुने बताए । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छुट हुँदैन’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ