arrow

नेपाल‐क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता

नेपालमा दूतावास खोल्न क्यानाडा सकारात्मक   

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
arzu-melani-jolly-canada.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । 

क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. राणा क्यानाडा पुगेकी हुन् । भेटका क्रममा उनीहरुले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएका थिए । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । 

त्यस भेटमा परराष्ट्रमन्त्री डा. राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन् । 

नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिइन् । 

साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्याएको सहयोगका लागि क्यानाडा सरकारलाई धन्यवाद ज्ञापन गरिन् । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानाडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन् ।
 
त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानाडाको राजदूतावास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गरिन् । उनले भनिन् “अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ । त्यसैले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्दछु ।”

उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन् । 

अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानाडाले नेपाली उत्पादनहरुलाई क्यानाडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताउनुभयो । 

जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानाडालाई आग्रह गरिन् ।

नेपाल र क्यानाडाबीच कयौँ अन्तर्राष्ट्रिय मुद्दा तथा विषयहरुमा समान धारणा रहँदै आएको बताउँदै मन्त्री डा राणाले सो भेटका क्रममा बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घमा शान्ति स्थापनार्थ गरिएका कामहरु, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका क्षेत्रमा नेपाल र क्यानाडाले समान धारणा र सहकार्यका साथ काम गर्दै आएको बताइन् ।

नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा शान्ति सेना पठाउने विश्वको ठूलो देश रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालले विगत छ दशकभन्दा लामो समयदेखि यो कार्यमा योगदान र अनुभव गर्दै आएको र कयौँ शान्ति स्थापनाका कार्यमा दुई देशले मिलेर काम गर्ने गरेका उदाहरण रहेका पनि बताइन् ।

उनले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको शान्ति मिसनमा काम गरिसकेका र अहिले पनि सो मिसनमा खटिरेहकामा ६०८ जना महिला रहेका जानकारी दिइन् ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो । 

साथै आगामी वर्ष मनाइने नेपाल क्यानाडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठका दौरानमा यी समझ्दारीमा हस्ताक्षर हुने गरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ । 

नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि सो वार्तामा भएको थियो । 

सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानाडाली विदेशमन्त्री जोलीले आग्रह गरेकी थिइन् । उनले पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि सराहना गरेकी थिइन् । 

त्यसैगरी उनले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन् । 

हाल क्यानाडामा नेपालीहरुको बढ्दो उपस्थिति खुशीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरु इमान्दार र काममा लगनशील भएको प्रतिक्रिया यहाँ उनीहरुको कामका कारण आफूले पाएको पनि सुनाइन् ।

उनले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

त्यसैगरी नेपालमा डिजिटल मार्केटिङ र ई‐गभर्नेन्सका क्षेत्रमा सहयोगका लागि मन्त्री डा राणाले गरेको प्रस्तावको स्वागत गर्दै आपसी सहयोगका साथ अघि बढ्ने प्रतिक्रिया क्यानाडाली विदेशमन्त्री जोलीले दिइन् । त्यस अवसरमा मन्त्री डा राणाले क्यानाडाली विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ