arrow

आन्दोलित माथिल्लो तामाकोशीका कर्मचारीले आइतबारदेखि आयोजनाका सवारी ठप्प पार्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
upallo-tamakoshi-karmachari.jpg

दोलखा। दोलखाबासी कर्मचारी र अन्य जिल्लाका कर्मचारीलाई वितरण गर्ने सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

आयोजनामा कार्यरत झण्डै २०० जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारीलाई उपलब्ध गराउने अतिरिक्त सुविधामा विभेद गरिएको भन्दै दोलखाबासी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

आयोजनाले कार्यरत कर्मचारीमध्ये यसअघि आयोजना निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई सय प्रतिशत अतिरिक्त सुविधा वितरण गर्दै आएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि संवैधानिक निकाय र अन्य सरोकारवाला निकायबाट संशोधन गर्न चौतर्फी दबाब बढेपछि आयोजनाले उक्त सुविधा घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आयोजनाका अधिकारीहरुका अनुसार २०७८ सालमा आयोजना संचालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत मात्रै सुविधा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयन थालेको थियो । 

उक्त निर्णय शुरुआतदेखिनै विभेदकारी भएको भन्दै जिल्लाबासी कर्मचारी सुविधामा एकरुपता अपनाउन आग्रह गर्दै असन्तुष्टि राख्दै आएका थिए ।

पटक पटक माग राख्दा पनि आयोजनाले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनरत संघर्ष समितिका संयोजक  रामबहादुर खड्काले जानकारी दिए । उनले यसअघि पनि पटक पटक कर्मचारीको सेवा सुविधामा एकरुपता दिन आग्रह गरे पनि दोलखाबासी कर्मचारीलाई आयोजनाले विभेद गरेको र आन्दोलनको समेत बेवास्ता गरेकाले कडा संघर्ष गरिने जनाएका छन् । 

उनीहरुले एक साताअघि उक्त समस्याको समाधान गर्न आयोजनालाई अल्टिमेटम दिइएको र त्यसकोसमेत बेवास्ता गरेपछि शुक्रबारबाट दोलखाबासी कर्मचारी काम छोडेर अनसन बसेका छन् । 

उनीहरुले आइतबारबाट आयोजनाका सबै सवारीसाधन आवागमन ठप्प पार्ने तयारी गरेको संयोजक खड्काले बताए । यता आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले तत्कालीन समयमा आयोजना संचालक समिति बैठकले निर्णय गरेकाले उक्त निर्णय पुनरावलोकन गर्न बोर्ड बैठकमा लैजाने बताए । 

उनले आफूहरुले चाहेर कर्मचारीबीच विभेद नगरिएको जनाएका छन् । शनिबार नेपाली कांग्रेस दोलखाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका चुनौती र समस्याबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चरिकोट पुगेका प्रमुख कार्यकारी अधिकृत गौतमले यस्तो बताएका हुन् ।

उनले आन्दोलनमा उत्रिएका कर्मचारीको समस्या समाधानका लागि आयोजना स्थल पुगेर छलफल गर्ने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ