arrow

डाक्नेश्वरीमा सत्ता र शक्तिको दुरुपयोग, ज्वाइँलाई नियुक्ति गराउन नगर प्रमुखले फेरे कर्मचारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
dakneshwori-nagarpalika-sap.jpg

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधिहरूले सत्ता र शक्तिको दुरुपयोग गरेको पाइएको छ । आफ्नालाई जागिर खुवाउन खोज्दा अवरोध भएपछि उनीहरुले शक्तिको दुरुपयोग गरेका हुन् ।

कर्मचारी नियुक्तिमा आपसी बाँडफाँट गरेको फाइल सदर गर्न नमानेपछि उनीहरुले शाखा प्रमुखकै सरुवा गरेका छन् । नगरपालिकाका मेयर रामलखन मलाहका छोरी ज्वाइँसहितकालाई नियुक्ति गर्न नमानेपछि पालिकाका प्रशासन शाखा प्रमुख उमेशप्रसाद साहलाई वडा कार्यालयमा सरुवा गरिएको छ ।

साहलाई सुरुवा गरेपछि ज्वाइँलाई नियुक्ति गर्ने सर्तमा उनको ठाउँमा शिक्षा शाखा अधिकृत कृष्णकुमार यादवलाई ल्याइएको हो । 

रोजगार संयोजक लगायतका पद खाली भएपछि नगरपालिकाले पदपूर्तिका लागि २०८० चैत २२ गते सूचना निकालेर परीक्षा लिने तयारी गरेको थियो । तर मेयर सहितका जनप्रतिनिधिहरुले निकालेको विज्ञापन अनुसार आपसी बाँडफाँट गरेर अनधिकृत तरिकाले नियुक्त गर्न खोजेपछि कर्मचारी र जनप्रतिनिधिबीच विवाद बढेको थियो । 
 
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जनप्रतिनिधिका आफन्त र छोराछोरीलाई नियुक्ति गर्न नमानेपछि नेकपा एमालेबाट जितेका मेयर मलाह सत्ताको आडमा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन गरी सर्तसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतमा पशु अधिकृत रामकिसुन यादवलाई ल्याएर नियुक्ति प्रक्रिया अगाडि बढाउन लगाएका थिए । 

तर प्रशासन शाखा प्रमुख साहले मेयरको गलत कदममा साथ नदिएपछि उनको सरुवा गरिएको हो । उनलाई डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ मा सरुवा गरिएको छ । 

'साह हटेपछि आफ्नो अनुकूल वातावरण बनाई नगपालिकाको कार्यपालिकाले निर्णय गरेर विज्ञापनको कामकाजलाई अगाडि बढाइएको छ', नगरपालिका स्रोतले भन्यो ।

नगरप्रमुख मलाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव नगरपालिकाले कर्मचारी भर्नाका लागि गरेको विज्ञापनको पदलाई बाँडफाँ^ गरेर रोजगार संयोजकमा तिरहुत गाउँपालिका वार्ड नम्बर १ का धर्मदेव मुखिया (नगरप्रमुखका छोरी ज्वाइँ) तथा अन्य पदमा उनकै सहयोगी सकलदेव मंडल र बलराम साहलाई कम्प्युटर अपरेटर पदमा, कार्यपालिका सदस्यसमेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष भागेश्वर यादवकी छोरी ममता यादवलाई अहेव तथा उनकै छोरा पंकज यादवलाई सहायक कम्प्युटर अपरेटर पदमा नियुक्त गर्ने तयारी गरेका छन् ।

त्यस्तै वडा नम्बर १ का वडा अध्यक्षका छोरा जीवन चौधरीलाई खेलकुद प्रशिक्षक पदमा र वडा नम्बर ९ का वडा अध्यक्ष कर्णदेव चौधरीका छोरा सरह भनेर चिनिने कृपानन्दलाई रोजगार सहायक पदमा नियुक्ति गर्न गत असार १७ गते नै प्रक्रिया अगाडि बढाइसकिएको हो । 

त्यस्तै विज्ञापन गरिएका अन्य पदका उम्मेदवाहरुबाट नगर प्रमुखले २ लाख देखि ४ लाखसम्म प्रतिउम्मेदवार घुस रकम लिँदै आएको स्थानीयहरुको आरोप छ ।  

मेयर मलाहले उनीहरुलाई नियुक्ति गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयसम्मलाई प्रयोग गरेको छ । उनले नेकपा एमालेका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष ताराकान्त चौधरीलाई प्रयोग गरी ज्वाइँ सहितकालाई नियुक्त गर्न कर्मचारी नै परिवर्तन गरी प्रक्रिया अगाडि बढाउन लगाइएको बुझिएको छ । 

जसका कारण प्याकुरेल र चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगमा गत भदौ १९ गते उजुरी नै दर्ता भइसकेको छ । यस सन्दर्भमा प्रतिकिया लिन नगरप्रमुख मलाहलाई फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले रोजगार संयोजक, कृषि प्राविधिक लगायतको नियुक्तिमा विवाद रहेका कारण यस्तो कुनै प्रकारको नियुक्ति नहुने प्रतिक्रया दिए । 

करारका नियुक्त गर्नै परे अधिकार क्षेत्रभित्र रही नगरपालिकाले श्रेणीविहीन कर्मचारी मात्र नियुक्त गर्ने उनले बताए ।
 



नयाँ