ञञञहिलेपोखरी (गोरखा)। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन् ।
नयाँ शक्ति विद्यार्थी युनियनले आइतबार गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ शीर्षक अन्तक्र्रियालाई सम्बोधन गर्दै भट्टराईले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे।
डा भट्टराईले भने , “मधेसवादी शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गरी कार्यान्वयनमा जाऔं ।” उनले नेपालप्रति जिम्मेवार भएर सबै जाति, समुदायलाई अधिकार सम्पन्न बनाउँदै दिगो विकास गर्नेतर्फ जुट्न सबैलाई आग्रह गरे।
संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा पक्षमा जानुपर्ने उनले बताए । “विकास र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ”, डा भट्टराईले भने ।
राज्यले आवश्यक बजेटको व्यवस्था गरी शिक्षामा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ छ । गोरखा क्याम्पसमा पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरे। रासस