arrow

समितिमा यातायातमन्त्री

अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बीपी राजमार्ग दशैंअघि नखुल्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
devendra-dahal-06-18-01.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरूको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताए । 

उनले सडक सञ्जाल विच्छेद भएका कारण बीपी राजमार्गमा सयौँ सवारी साधनहरू फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरू समेत अलपत्र परेका भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताए । उनले बीपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निष्कर्ष सरकारको रहेको स्पष्ट पारे । उनले देशभरको विपद्मा परेका नागरिकहरूको उद्धारमा सरकार लागिरहेको बताए । सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उनले बिदाको बेलामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरणहरू लिएर काम गरिरहेका जानकारी दिए । 

उनले भने – ‘बीपी राजमार्गको कुराको सन्दर्भमा कुनै उपाय गरेर गर्नुपर्छ भनेर जोड दिनुभएको छ । हामी त्यसमा लागिराखेका छौँ । खोला बाटै डाइभर्सन खोल्ने हो । १२ किलोमिटर त नामो निसानै छैन बाटो नै बगाएको छ । भित्तो खनेर बाटो निकाल्दा पनि बगिहाल्ने रहेछ । दुई उपाय छन्, १२ किमी नै पुल बनाउने । बाटो बनायो लगिहाल्छ । तर त्यो भन्दा कम खर्चमा के गर्ने त भन्दा खोला तलबाट वाल उठाएर ल्याउनुपर्ने हुन्छ बाटो खन्नका लागि । त्यसको लागि त समय लाग्छ । त्यसअघि खोलामै पानीको बहाव कम भइसकेपछि पहिलो नम्बरमा ती गाडीहरूलाई उद्धार गर्ने । त्यसपछाडि क्रमशः गाडी सञ्चालन गर्नका लागि कोसिस गर्नुपर्छ भन्ने लागेको छ । हाम्रो निष्कर्ष के हो भने दशैँ अगाडी हामी त्यो सुचारु गर्न सक्दैनौँ । गाडीहरू उद्धार गर्न चाहिँ अनवरत जारी राख्छौँ काम । उद्धारको कुरामा सरकार शून्य नम्बरमा गएको होइन । शून्य नम्बर दिनु हुँदैन । यो सरकारलाई तपाईँहरूले नम्बर दिनुपर्छ । किनभने धेरै कामहरू हामीले गरेका छौँ । नगरेको होइन । दोष मात्रै दिएर हुँदैन । हाम्रो सडक विभाग आर्मी स्टाइलको छ । अलर्ट भएर खट्छ । दसैको बेलामा पनि, बिदाका बेलामा पनि सडक विभागका कर्मचारीहरू डोजर लिएर, हेवी इक्युपमेन्ट लिएर खट्नुहुन्छ ।’

बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले अवरुद्ध रहेका पाँच राजमार्गहरूमध्ये अरनिको राजमार्ग अन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्य पहाडी राजमार्ग अन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आइतबारसम्म पूर्णरुपमा खुल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ