सातौं राष्ट्रिय खेलकूदमा वजेट अभाव, अर्थले मागे जति दिएन
बजेट ३४ करोडको बुझाएका थियौं : संयोजक खनाल
प्रकाशित २०७३ पुष ३ आइतबार
891
Shares
काठमाडौं । आसन्न सातौं राष्ट्रिय खेलकूदलाई बजेट अभाव भएको छ । सातौं राष्ट्रिय खेलकूद सचिवालय संयोजक कमल खनालले हाम्राकुरासँग भने, ‘अर्थ मन्त्रालयले ८ करोड मात्रै दिएको छ । हामीले ११ करोड मागेका थियौं । ८ करोडले पुग्दैन । कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्नु पर्ने देखिएको छ ।’ हामीले खेलकूद मन्त्रालयमार्फत प्रतियोगिताको कुल बजेट ३४ करोड बनाएर पठाएका थियौ, उनले थपे, ‘हालसम्म २३ करोड खर्च भइसकेको छ ।’
राष्ट्रिय प्रतियोगितामा सबैले सोच्नु पर्ने हो । प्रधानमन्त्री, मन्त्री वा सचिव सबैले, खनालले भने, ‘फेरि पनि सरकारले नै यसको व्यवस्था गर्नु पर्ने हुन्छ । यो सबैको सरोकारको विषय हो । बजेट अभावमा प्रतियोगिता सम्पन्न हुन सक्दैन ।’ यस्तै, विराटनगरमा आइतबार भएको पत्रकार सम्मेलमा राखेप सदस्य सचिव केशव कुमार विष्टले समेत सातौं राष्ट्रिय प्रतियोगिता गराउन पूर्ण वजेट नपाइएको बताए ।
विष्टले प्रतियोगिता सम्पन्न गर्न अर्थ मन्त्रालयले ८ करोड मात्र निकासा गरेको जानकारी दिए । खेल संख्या बढेको र खेल विभिन्न स्थानमा गर्नु पर्ने भएकाले लागत वृद्धि भएको विष्टको भनाई छ । प्रतियोगिताका लागि अझै ४ करोड अपुग हुने विष्टले बताएका छन् ।
कति खेल ?
सातौं राष्ट्रिय खेलकूदमा समावेश खास ३५ खेल हुन् । जसमा ३ खेल यसअघि नै सम्पन्न भइसकेका छन् । पौडी, शारीरिक सुगठन र ट्रायथलन पहिले नै भइसकेका छन् । ट्रायथलन पोखरा तथा शारीरिक सुगठन र पौडी ललितपुरको सातदोबाटोमा भएको थियो । एथ्लेटिक्समा समावेश पुरुष–महिलाको विभिन्न ४० स्पर्धा मध्ये पुरुष–महिलाको म्याराथन विराटनगरमा भइसकेको छ । गल्फ र स्नुकर राखेपको व्यवस्थापनमा सम्बन्धित राष्ट्रिय संघले नै सञ्चालन गर्नेछ ।
३० खेलको स्पर्धा मध्ये स्क्वास ललितपुर, फेन्सिङ काठमाडौं र लनटेनिस पोखरामा खेलाइने छ । २७ खेलहरु पूर्वाञ्चलको झापा, सुनसरी, मोरङ, सिरहा, सप्तरी, धनकुटा र उदयपुरमा हुनेछ । छैटौं राष्ट्रिय खेलकूदमा समावेश भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्गलाई सातौंमा समावेश गरिएको छ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेका हुन् ।
कति खेलाडी सहभागि हुँदै छन् ?
सातौं राष्ट्रिय खेलकूदमा क्षेत्रीय छनोट र प्रत्यक्ष गरी ३९७२ खेलाडी सहभागि हुने बताइएको छ । जसमा क्षेत्री छनोटबाट पुरुष १७५३, महिला ११६१ सहभागि हुँदै छन् । यस्तै, प्रत्यक्षबाट पुरुष ५५० र महिला ५०८ सहभागि हुने छन् । यस्तै, ४०५ प्रशिक्षक, २७१ व्यवस्थापक र ११०६ जना निर्णायक रहने बताइएको छ ।
कति पदकको छिनोफानो हुँदैछ ?
कुल पदक संख्या १०३५ रहेकामा स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङको पदक पदक तालिकामा गणना हुने छैन । कुल पदक संख्या १०३५ मा २९४ स्वर्ण, २९४ रजत र ४४७ कांस्य थियो । यद्यपि, अहिले छिनोफानो हुन लागेको कुल पदक संख्या ९५२ रहेको छ । जसमा २६८ स्वर्ण, २६८ रजत र ४१६ कांस्य रहेको छ ।