arrow

नबिल बैङ्क र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
nabil-mou-hamropatra-2024.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ। आज नबिल बैङ्क लिमिटेडका तर्फबाट एनबैङ्क प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन्।

दुई कम्पनीबीच भएको सम्झौता अनुसार, नबिल बैङ्कले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ। नेपाल बाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन्। जस अन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ।

यस सेवा अन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युएस डलर १०० देखि  अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन्। नबिल बैङ्कका अनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैङ्क खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन्।

नबिल बैङ्कले २०२२ डिसेम्बरदेखि  आफ्नो एन बैङ्क एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ। यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो। “यो बैङ्किङ सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैङ्किङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,” नबिल बैङ्कका अन्तर्राष्ट्रिय व्यापार तथा एन बैङ्कका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भने।

यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन्। यसबाट नेपाली बैङ्किङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नबिल बैङ्कले आफ्नो एनबैङ्क एपमार्फत एनरेमिट सेवा दिँदै आएको थियो। स्मार्ट आइडियाज प्रालिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो। बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ