arrow

चिनियाँ राष्ट्रपति सी जिनपिङबाट नेपाल आउने आश्वासन

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
Xi-Jinping.jpeg
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनपिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाएका छन् । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले सोमबार ग्रेट हल अफ दि पिपुलमा बुझाएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सीले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास दिलाए ।
 
उनले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट पारे । सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको दोहो¥याए ।
 
राष्ट्रपति सिको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूतले जोड दिए । 
 
उनले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पु¥याउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको पनि उल्लेख गरे । 
 
“नेपाली जनता चीनको विकासलाई नेपालको स्थिरता र विकासका लागि अवसर ठान्छन्” राजदूतले भने । समारोहमा चिनियाँ विदेशमन्त्री तथा चिनियाँ सरकारका उच्च अधिकारी नेपाली राजदूतावासका अधिकृतको पनि सहभागिता रहेको चीनका लागि नेपाली राजदूतावास, बेजिङद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ