arrow

बाबा सिद्धिकीको हत्याको छ दिनपछि सलमानलाई मार्ने धम्की, वाई प्लस सुरक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
salman-khan-tiger3.jpg

काठमाडौँ । भारतीय नेता बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । 

धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले पाँच करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’

मुम्बई पुलिस म्यासेज पठाउने व्यक्तिको खोजीमा लागेको बताएको छ । सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । यसपछि सलमानको सुरक्षा बढाइएको छ । सलमानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । लरेन्स समूहले आक्रमणको जिम्मेवारी लिएको थियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिदै, ‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेको छ । यसअघि पनि पटकपटक धम्की आएका छन्, जरिवानासमेत तिरेका छन् । धेरै मामिलामा अल्झिएको छु ।’

यसअघि जनवरी २०२४ मा, अप्रिल २०२३ मा, मार्च २०२३ मा, जुन, २०२२ मा सलमानलाई ज्यान मर्ने धम्की दिइएको थियो ।

सलमानमाथि सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका ​​क्रममा राजस्थानको जंगलमा कालो हरिणको शिकार गरेको आरोप छ । 

सलमान बाहेक सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलम कोठारीलाई पनि आरोप लागेको थियो । त्यसपछि बिश्नोई समुदायले पनि सलमानविरुद्ध उजुरी दिएका थिए । 

यसका लागि सलमानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय पनि सुनाएको थियो तर पछि उनले यस मुद्दामा जमानत पाएका थिए । जसका कारण ग्याङ्गस्टर लरेन्स सलमान खानलाई मार्ने धम्की दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ