- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट खेलाडी शकिब अल हसनको क्रिकेट करियरको अन्त्यको संकेत देखिएको छ । घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल्ने बताएका शकिबलाई विरोधको सामना गर्नुपर्ने भएपछि दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट बाहिर राखिएको छ ।
अक्टोबर २१ देखि हुने टेस्ट खेलमा शकिबको स्थानमा लेफ्ट आर्म स्पिनर हसन मुरादलाई टिममा सामेल गरिएको छ । योसँगै घरेलु दर्शकका अगाडि अन्तिम टेस्ट खेल खेल्ने शकिबको सपना अधुरो रहने सम्भावना देखिएको छ ।
अमेरिकाबाट ढाका फर्किने क्रममा दुबई पुगेका शकिबलाई दुबईमै पर्खिन भनिएको बताइएको छ । ढाकामा शकिबलाई टिम बाहिर राख्न माग गर्दै प्रदर्शन जारी रहेपछि बंगलादेश क्रिकेट बोर्डले शकिबलाई देश नफर्किन सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अघिल्लो महिना भारत विरुद्धको टेस्टका क्रममा शकिबले घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेल्ने इच्छा व्यक्त गरेका थिए । साथै बंगलादेशमा आफूविरुद्ध जारी विरोधप्रति संकेत गर्दै उनले आफ्नो यो नै अन्तिम टेस्ट हुन सक्ने पनि बताएका थिए ।
बंगलादेशमा खेल्ने सम्भावना कम हुँदै गएपछि शकिबले सामाजिक सञ्जालमा केही दिनअघि लेखेका थिए, ‘म तपाईंहरू वरपरका सबैसँग बिदाइ गर्न चाहन्छु । बिदाइको क्षणमा म तपाईंहरुसँग हात मिलाउन चाहन्छु जसको तालीले मलाई अझ राम्रो खेल्न बाध्य बनायो । म ती आँखाहरू भेट्न चाहन्छु जसले राम्रो खेल्दा रमाईलो गरे भने नराम्रो खेल्दा आँखा आँसुले भरिएको थियो ।’
साथै गत जुलाई–अगस्तमा भएको विद्यार्थी आन्दोलनका क्रममा चुप बसेकोप्रति माफीसमेत मागेका थिए ।
अगस्तमा सेख हसिनाले देश छोडेदेखि नै शकिब बंगलादेश फर्किन सकेका छैनन् । हसिनाको दल अवामी लिगका निर्वाचित सांसद रहेका शकिबविरुद्ध बंगलादेशमा मुद्धासमेत दायर भएको छ ।
अगस्तमा सरकार विरोधी आन्दोलन चर्किदै गर्दा शकिब भने क्यानाडामा ग्लोबल टी–२० लिग खेलिरहेका थिए । त्यसपछि उनी पाकिस्तान गएर बंगलादेशले जितेका दुई टेस्टको सिरिज खेलेका थिए । त्यसपछि सेप्टेम्बरमा शकिब बेलायत पुगेर सर्रेका लागि एक फर्स्ट क्लास खेल खेलेका थिए । बेलायतपछि उनी भारत आएर टेस्ट सिरिज खेलेका थिए ।
बंगलादेश बोर्डले पहिलो टेस्टबाट शकिबलाई बाहिर राखिएको उनी आफ्नो क्यारियरको अन्तिममा रहेपनि बोर्डको सिस्टम भित्र नै रहेको बताएको छ । साथै बोर्डले अक्टोबर २९ देखि हुने दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा शकिब खेल्ने वातावरण बन्ने विश्वास व्यक्त गरेको छ ।
शकिब विश्वकै उत्कृष्ट अल राउण्डर क्रिकेटर हुन् । उनले बंगलादेशका लागि ७१ टेस्टमा ५ शतक र ३१ अर्धशतकसहित ४६०९ रन बनाएका छन् भने २४६ विकेट लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेलमा ९ शतक र ५६ अर्धशतकसहित ७५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् ।
त्यसैगरी १२९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै शकिबले २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।