arrow

रवि पक्राउ परेपछि पोखरामा रास्वपाको विरोध प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
pokhara-chipledhunga-rsp.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउको पोखरामा विरोध प्रदर्शन गरेका छन् । कार्यकर्ताले पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा नारावाजीसहित विरोध गरेका हुन् ।

रास्वपा कास्की र गण्डकीले देशभरका कार्यकर्ता पोखरा उतार्ने तयारी गरे पनि कार्यकर्ता पोखरा आइसकेका छैनन् ।

यद्यपि केही नेता तथा कार्यकर्ता पोखरा आउनेक्रम जारी छ । केही स्थलमार्ग र केही हवाईमार्ग हुँदै पोखरा आउने तयारीमा छन् ।

कास्की र गण्डकीका केही नेता तथा  कार्यकर्ता मानवअधिकारचोकमा जम्मा भएका छन् । विरोध प्रदर्शन कार्यक्रमलाई केन्द्रीय नेताहरुले संवोधन गर्ने बताइन्छ ।

उनीहरुले ‘वास्तविक सहकारी ठगलाई कार्वाही गर’, ‘रविलाई न्याय दे’, ‘नडराउनु रवि दाइ, जनता तिम्रो साथमा छन्’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्ट र दलाल सरकार मुर्दाबाद’, ‘भ्रष्ट सरकार चाहिँदैन’, ‘न्याय मार्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

रास्वपाका कार्यकर्ताले कांग्रेस उपसभापति धनराज गुरुङ र सांसद ऋषिकेश पोखरेल वास्तविक सहकारी ठग भन्दै फोटो प्रदर्शन गरिरहेका छन् ।

पार्टीका नवलपुर सभापति नरेश्वर लामिछानेले वास्तविक सहकारी ठगलाई जोगाउन सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

उनले सचेत नागरिक आफूहरुको साथमा उभिनुपर्नेमा जोड दिए । आफूहरुको आन्दोलन सबै सचेत नागरिकको भएको उनले स्पष्ट पारे ।

उनले भने, ‘आफूहरुको अभियान रवि लामिछाने छुटाउनेमात्र होइन सबै विकृति र विसंगति विरुद्ध हो ।’

कानूनी राज्य स्थापना गर्ने उद्देश्यसहित आफूहरुले अभियान चलाएको लामिछानेले बताए । उनले रवि लामिछानेलाई थुनेर सरकारले राजनीतिक प्रतिशोध राखेको स्पष्ट पारे । उनले २०८४ पछि देश रास्वपाकै हातमा आउने दावीसमेत गरे ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरी पोखरा ल्याइएको छ । लामिछाने हाल कास्की प्रहरी हिरासतमा छन् ।

उनलाई भीआइपी सुविधा प्रदान गरिएको छ । उनलाई आइतबार अदालतमा उपस्थित गराइने कास्की प्रहरीको तयारी छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ