रवि–बालेनको अंकमालसँगै सकियो रास्वपाको बन्द सत्र, निर्वाचन तालिका फेरि संशोधन [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
310
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रथम महाधिवेशन सम्पन्न गर्न हम्मेहम्मे परेको छ । आजसम्म चल्ने भनी आइतबार ७ गते शुरू भएको तीन दिने महाधिवेशन कहिले सकिने भन्ने टुंगो छैन ।
पटक पटक कार्यक्रम संशोधन हुँदा समस्या आएको हो । निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो ।
अब तालिका अनुसार हुने भए बेलुकी ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ ।
पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उनका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।
उम्मेद्वारविरुद्ध दाबीविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाबी विरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।।
बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टापछि मत गणना गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।
यता, सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेनबीच अंकमाल भएसँगै बन्द सत्र सकिएको छ । बन्द सत्र डेढ दिन ढिला गरी मंगलबार दिउँसो ३ः३० बजेदेखि शुरू भएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका बालेन भने करिब अढाई घण्टा ढिला गरी बन्द सत्रमा आएका थिए ।