arrow

रास्वपाका कार्यकर्ताले आफ्नै समूहमा रहेका युवालाई निर्घात कुटे, घुसपैठ कि नियोजित ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
rsp-attack-81-7-4yy.jpg

पोखरा । पोखराको मौसम चिसो हुँदै गएको भए पनि सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अदालत लगिएसँगै एकाएक माहोल तातेको छ । 

शुक्रबार काठमाडौँबाट पक्राउ परेका उनलाई शनिबार बिहान कास्की ल्याइएको भए पनि कार्यालय खुलेपछि आइतबार मात्रै अदालतमा म्याद थपका लागि लगिएको हो । यता उनलाई छुटाउन दबाब दिने उद्धेश्यले रास्वपाले देशभरबाट आफ्ना कार्यकर्ताहरु पोखरामा भेला भएका छन् । 

उनीहरु उश्रृंखल बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । तर निषेधाज्ञा तोड्दै रास्वपा कार्यकर्ताहरु शहीद चोकमा अगाडि बढिरहँदा स्थिति तनावग्रस्त नै भयो । रास्वपा कार्यकर्ताले प्रहारीमाथि ढुंगा हानेका थिए भने स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले पानी फोहोराले हान्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो । 

दिउँसो २ बजेतिर प्रहरीले प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गर्ने निर्णय गर्यो । त्यसका लागि नेपाल प्रहरीको वाटर क्यानल प्रदर्शन स्थलमा ल्याइयो र ठाउँ खाली गर्न सूचना प्रवाह गरियो । रास्वपाका कार्यकर्ताहरु आन्दोलनकारी झनै आक्रोशित बन्न थाले । अन्ततः प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहोरा प्रहार गर्न थाल्यो ।

त्यही मौकामा प्रदर्शनकारी तर्फबाट प्रहरीतर्फ एउटा पानीको बोटल प्रहार भयो । अनि रवि पक्षधर प्रदर्शनकारी आन्दोलनमा घुसपैठ भयो भन्दै एक युवामाथि जाइलागे । लात्ता र मुक्का प्रहार गर्दै युवाहरुले ती युवालाई निर्घात कुटपिट गरे ।

तस्बिरमा देखिएका रातो टिसर्ट र कालो विनचिटर लगाएका युवा नै कुटाइ खाने व्यक्ति हुन् । उनीमाथि निर्घात कुटपिट भैरहँदा प्रहरी रमिते बनेको थियो ।

रास्वपाको प्रदर्शनमै खटिएका केही युवाहरुले उनलाई भीडबाट जोगाउन खोज्दै थिए । अन्ततः प्रहरीले ती युवालाई जिल्ला प्रशासन कार्यालयको गेटभित्र लगेर उनको उद्धार गर्यो । तर ती कुटाइ खाने व्यक्ति आखिर को हुन् त ? उनको पहिचान खुलिसकेको छैन । 

शुक्रबारदेखि नै आन्दोलनमा घुसपैठको गन्ध आइरहेको थियो । रास्वपाको उश्रृंखल आन्दोलनलाई थप मलजल गरी अझ उश्रृंखल बनाउने क्रममा घुसपैठको आशंका भइरहँदा कतै ती युवा पनि घुसपैठभित्रका एक त हैनन् ? भन्ने प्रश्न उब्जिएको छ । 

तर उनी रास्वपाकै कार्यकर्ता भएको आँकलनसमेत गरिएको छ । रास्वपाका कार्यकर्ताले आफ्नै कार्यकर्तालाई कुटेको शंका पनि छ । तर रास्वपाका कार्यकर्ताहरुले रवि पक्राउ पर्नासाथ विभिन्न जिल्लामा टायर जलाउने र सडक बन्द गर्ने गरिहँदा पार्टी नै उश्रृंखलतातिर गएको त हैन ? भन्ने प्रश्न पनि उब्जिएको छ । 

अझ रविले आफू अदालतको ढोकाभित्र छिर्नुअघि संचारकर्मीसँग आफ्ना कार्यकर्तालाई केपी शर्मा ओली नेतृत्वको सरकार नढलुन्जेल सडक नछाड्न आग्रह गरेसँगै थप हौसिएका छन् । 

यसले रास्वपाको भविष्यसमेत तय हुने आँकलन भइरहेको छ । आखिर कुटाइ खाने घुसपैठ हो कि नियोजित हो यसको जवाफ आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ