arrow

रुस पुगेका राष्ट्रसङ्घका महासचिवले गरे युक्रेनमा शान्तिको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गरेका छन् । 

उनी पुटिनले किएभमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेको केही हप्तापछि सन् २०२२ अप्रिलयता पहिलो पटक रुसमा छन् ।

'हामीलाई युक्रेनमा शान्ति चाहिन्छ । संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय कानून र महासभाका प्रस्तावहरू अनुरूप न्यायपूर्ण शान्ति', गुटेरेसले ब्रिक्स नेताहरूको गोलमेच बैठकमा भने ।

उनले मध्यपूर्वमा पनि शान्तिको आह्वान गर्दै गाजामा ‘तत्काल युद्धविराम’ र लेबनानमा ‘तत्काल शत्रुताको अन्त्य’ हुनुपर्ने बताए ।

'विश्वव्यापी चुनौतीहरूको सामना गर्न विश्व परिवारका रूपमा काम गर्ने राष्ट्रहरूको समुदाय चाहिन्छ' महासचिव गुटेरेसले आफ्नो प्रारम्भिक टिप्पणीमा भने ।

उनले आफ्नो कुरा सकेपछि पुटिनले कठोर जवाफ दिए । 'महासचिव महोदयले हामी सबै एउटै ठूलो परिवारका रूपमा बस्नुपर्छ भन्नुभयो, परिवारमा दुर्भाग्यवश प्रायः झगडा, स्क्यान्डल, सम्पत्तिको बाँडफाँट र कहिलेकाहीँ लडाइँ पनि हुन्छन्', उनले मुस्कुराउँदै भने, 'ब्रिक्सको लक्ष्य आवश्यक अन्तरक्रियाका संयन्त्रहरू सिर्जना गर्नु र साझा घरमा अनुकूल वातावरण सिर्जना गर्नु हो ।'

युक्रेनले पुटिनलाई ‘अपराधी’ भन्दै गुटेरेसको रुस भ्रमणको निर्णयको निन्दा गरेको थियो ।

महासचिव गुटेरेसले बिहीबार पुटिनसँग द्विपक्षीय वार्ता गर्दै छन् । वार्तामा उनले युक्रेनबारे आफ्नो अडान दोहोर्‍याने उनका प्रवक्ताले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ