arrow

पोखरामा ‘सारंगी उत्सव’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
sarangi-utsab-pokhara.jpg

पोखरा । घराना इभेन्ट्ससँगको सहकार्यमा राष्ट्रिय संगीतकर्मी संघ कास्कीले पोखरामा आयोजना गरेको ‘सारंगी उत्सव’ सम्पन्न भएको छ । 

उत्सवमा बाटुलेचौरस्थित झलकमान सारंगी पाठशाला र हेमजास्थित गन्धर्व सारंगी पाठशालाका प्रशिक्षार्थीले सारंगी र मादल बजाएर गीत प्रस्तुत गरेका थिए । यस्तै बाटुलेचौर, हेमजा, बडहरे र गगनगौंडाका गन्धर्व समाजले समेत आआफ्नो प्रस्तुति राखेको थियो ।

सो अवसरमा कर्खा ब्यान्डले सारंगी, मादल, गितार र ड्रम सेटको फ्यूजन गरेर झलकमान गन्धर्व, पूर्ण नेपाली, धनबहादुर गायकलगायतका गीत प्रस्तुत गरेको थियो ।

कार्यक्रममा खिमबहादुर गन्धर्वसहित लालबहादुर गायक, सम्मरबहादुर गायक, गोविन्द गायक, हरि गन्धर्व र कृष्णजी गायकलाई संघले सम्मान गर्यो ।

कार्यक्रममा कात्तिक १५ मा प्रदर्शन हुने चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को टोलीसमेत सहभागी थियो ।

कलाकार प्रकाश ‘सपुत’ ले यसअघिका चलचित्रमाा गन्धर्वलाई गाडी वा बाटोमा सारंगी बजाइरहेको दृश्यमा मात्रै सीमित गरिने गरेकोमा ‘पूर्णबहादुरको सारंगी’ ले गन्धर्वकै कथा र चरित्रलाई मुख्य विषयवस्तु बनाएर देखाउन खोजेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र सारंगी पर्यायवाचीजस्तै भएको बताए । उनले सारंगी संरक्षणमा पोखरा प्रज्ञा प्रतिष्ठानमार्फत काम भइरहेको उल्लेख गरे ।

कलाकार पूर्ण नेपालीले गन्धर्वको जन्मदेखि मृत्युसम्मको आफ्नै संस्कार भएकाले त्यसलाई संरक्षण गर्न पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय संगीतकर्मी संघ, कास्कीका अध्यक्ष सुनील गायकले सारंगीमा आफ्नो जीवन व्यतित गरेका अग्रजको सम्मान गर्दै सारंगी संरक्षणमा नयाँ पुस्तालाई प्रोत्साहित गर्न सारंगी उत्सव आयोजना गरेको बताए ।

उनले नेपाललाई विश्वभर चिनाउने सारंगी संरक्षणको जिम्मा गन्धर्व समुदायको मात्र नभएको भन्दै सबैले साथ दिनुपर्ने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ