काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्षहरुको यहि पुष ८ र ९ गते राजधानीमा प्रथम महाधिबेशन हुने भएको छ । प्रचार प्रसार समितीले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जिल्ला कोषाध्यक्षको प्रथम महाधिबेशनको तयारी पुरा भएको जानकारी गराएको हो ।
पार्टीको १२ औं महाधिबेशनपछि उत्पन्न राजनीतिक परिस्थिति र यसले समाजमा पारेको प्रभावलाई सम्बोधन गर्नेगरि महाधिबेशनमा आफूहरु जुटिरहेको महाधिबेशन संयोजक गोविन्द पुडाशैनीले जानकारी दिए । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।
नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको संयोजक पुडासैनीले बताए ।
उनले काँग्रेसले केन्द्रीय नेतृत्वसँग लाभदायी पदमा बसेका व्यक्तिसँग केन्द्रमै लेबी उठाउने गरेको र जिल्लालाई दिने भनि तोकिएको लेबी समेत जिल्लाबाट प्राप्त गर्न समस्या भएको हुँदा त्यस बरेमा पनि सम्म्लनमा छलफल हुने जानकारी दिए । उनले भने,‘आगामी स्थानीय चुनावमा नेपाली काँग्रेसलाई पहिलो स्थानमा ल्याउनको लागि यो महाधिबेशन सम्पन्न गर्दैछौँ, सबैको साथ र सहभागितामा यो सम्मेलन सफल रुपमा सम्पन्न हुन्छ ।’
त्यस्तै कार्यक्रममा कास्की जिल्लाकी सभापति एव्म यूवा नेतृ लक्ष्मी पाण्डेले सन्त नेता कृष्ण प्रसाद भटराईको ९३ औँ जन्मजयन्तिको अवसरमा पुस ८ गते पारेर बिहान ८बजे राजधानीको राष्ट्रिय सभागृहमा नेपाली काँग्रेसका सभापति एव्म पूर्व–प्रधानमन्त्री शेर बहादुर देउवाले महाधिवेशनको उद्द्याटन गर्ने जानकारी दिईन् ।