arrow

इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
majdur-saptari.jpg

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।

भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुर अलपत्र परेका हुन् । 

भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताए । उनले भारतबाटै मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताए । 

सोही ठाउँका अर्का मजदुर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताए । “हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन । कसरी घर फर्किने भन्ने चिन्ता छ”, उनले भने ।

जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदुरको उद्धार गरेको जनाएको छ । प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन् । 

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मजदुर ल्याउने फरार ठेकेदारको खोजी भइरहेको र उनीहरुलाई भारत पठाउने प्रयाससमेत भइरहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ