- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आपराधिक कार्यमा संलग्न हुने सबै मानिसमाथि अनुसन्धान हुने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्न लाखा पाखा नगर्ने बताए । उनले त्यस्ता मानिसमाथि कारबाही गर्न सत्तापक्ष र प्रतिपक्ष भनेर नहेरिने स्पष्ट पारे।
उनले आपराधिक कार्यको अनुसन्धान र कारबाही मानिसको मुख हेरेर नभई तथ्य हेरेर गरिने बताए । उनले तथ्य र प्रमाणले जता लान्छ, अनुसन्धान त्यतै जाने भन्दै प्रमाण अनुरूप कारबाही हुने बताए । उनले सरकारले कानुनको परिधिभन्दा बाहिर गएर कसैलाई प्रतिशोध नलिने बताए । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने उनको भनाई छ ।
उनले भने – ‘अपराधजन्य कार्यहरू, भ्रष्टाचार होस् । ठगी होस् । या अरू कुनै पनि आपराधिक कार्यमा अपराध गर्ने सबै मानिसका माथि अनुसन्धान हुन्छ । हुनुपर्छ । यसमा कुनै लाखा पाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । म के आग्रह गर्न चाहन्छु भने कुनै पनि आपराधिक कार्यको अनुसन्धान, कारबाही मानिसको मुख होइन तथ्य हेरेर गरिन्छ । कारबाही प्रमाण हेरेर गरिन्छ । मानिसको मुख हेरेर गरिँदैन । एक पटक फेरि भन्छु, कुनै पनि आपराधिक कार्यमा अनुसन्धान मान्छेको मुख हेरेर गरिँदैन । तथ्य हेरेर गरिन्छ । कुनै पनि आपराधिक कार्यको कारबाही मान्छेको मुख हेरेर गरिँदैन । तथ्य र प्रमाणमा आधारित भएर गरिन्छ । प्रमाण जता–जता जान्छ, अनुसन्धान त्यता–त्यता जान्छ । प्रमाण जे–जे हुन्छ, त्यस अनुरूप कारबाही हुन्छ । सरकार कानूनको परिधिभन्दा बाहिर गएर कसैलाई प्रतिशोध लिने, दुःख दिने, हैरानी दिने काम गर्दैन । कानूनले, तथ्यले, प्रमाणले जे देखाउँछ त्यो गर्छ । अनुसन्धान निष्पक्ष हुन्छ । स्वतन्त्र हुन्छ । जहाँनिर न्यायालयको अनुमति लिनुपर्ने हुन्छ, न्यायालयको अनुमति बाहेक गरिँदैन । जहाँनिर प्रमाण हेर्नुपर्ने हुन्छ, प्रमाण हेर्छ । तथ्य केलाउनुपर्ने हुन्छ तथ्य केलाउँछ । यसमा कुनै काखापाखा, पक्ष, प्रतिपक्ष हुँदैन ।’
गृहमन्त्री लेखकले सरकार भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीतिको दृढ रहेको बताए । उनले सुशासन स्थापना गर्ने कुरामा सरकार प्रस्ट रहेको भन्दै भ्रष्टाचार निर्मूल गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए ।