arrow

कांग्रेस कोशी प्रदेशको सम्मेलन मंसिर २२ मा 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
congress-koshi-81-7-13.jpg

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ ।  नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । 

सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भुपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए ।

प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी गराउन निर्वाचन परिचालनका लागि निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णयसमेत गरेको छ ।

त्यस्तै नेपालकै होचो स्थान झापाको कचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्म ‘कचनाकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश समितिले जागरण अभियानको आवश्यक तयारी र केन्द्रीय समितिद्वारा सञ्चालित सय दिने अभियानलाई सहयोग गर्नका लागि कोशी प्रदेशका ५६ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भएको छ । 

साथै जागरण अभियानको अवधारणापत्र र प्रतिनिधिहरुका लागि कार्यविधि तयार गर्न प्रवक्ता विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ । 

समितिको सदस्यमा उत्तमकुमार चौलागाईं, बाबुराम कोइराला (वासु), रञ्जिता कार्की र सदस्य सचिवमा नारायण कोइराला छन् ।

बैैठकमा कोशी प्रदेशमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका महामन्त्री भुपेन्द्र राईले सरकारको कामकारबाहीका विषयमा संक्षिप्तमा जानकारी गराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ