arrow

फस्टाउँदै व्यावसायिक फूलखेती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
marigold-flower2.jpg
फाइल तस्बिर

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती गर्न थालेको ६ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ ।

जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या ६ जना भन्दा बढी भएका छन् । उनीहरु व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउँछिन् ।

‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो’, उनी भन्छिन्, ‘यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।’

विन्दुले पाँच वर्षअघि १० कट्ठाबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताइन् । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ ।

खजुरा गाउँपालिका-३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्वीन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आएकी छन् । सयपत्री फूलखेतीबाट वार्षिक ५ लाख रुपैयाँ बढी मुनाफा लिने गरेको उनी बताउँछिन् ।

कोहलपुर नगरपालिका-३ निवासी विष्णु चौधरी र वडा नं १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूल खेती गरेका छन् । विष्णुले फूल खेतीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी लिने गरेको बताउँछन् । सुरुका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उनको भनाइ छ ।

७ कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिक स्तर उकासेको छ । उनले प्रतिकिलो ५ सय रुपैयाँको दरले फूल र माला प्रतिगोटा १ सय २० रुपैयाँ मूल्य निर्धारण गरेका छन् ।

जानकी गाउँपालिका-३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि ३ वर्षदेखि एक कठ्ठामा फूलखेती गरेर एक क्विन्टल फूल उत्पादन गर्दै आएका छन् । अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उनको भनाइ छ ।

फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ