arrow

कोरला नाका नजिकैको नेचुङमा बीओपी भवन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
apf-broder-sima.jpg

म्याग्दी।  चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाका नजिकैको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण भएको छ । 

कोरला नाकाको सीमा सुरक्षा, सम्भावित अपराध नियन्त्रण र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन विंस २०७७ जेठमा स्थापना भएको बीओपी भन्सार कार्यालयको भवनबाट सञ्चालन हँुदै आएको थियो । 

दुई तला ४२ कोठा रहेको भवनको कोठालाई न्यानो बनाउन पार्केटिङका साथै भित्तामा काठ राखिएको मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपालको ३३ नम्बर गुल्मका प्रमुख सहायक प्रहरी नायव उपरीक्षक मणिकर्ण राईले बताए । 

“चिसो हावापानी हुने नेचुङको बिओपीको नयाँ भवन बनेपछि सुरक्षाकर्मीको बसाई व्यवस्थापन, कार्यालय सञ्चालन सहज हुनुका साथै मनोबल उच्च भएको छ”, उनले भने, “छिट्टैनै भवनको उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारीमा छौ ।”

कोरला नाकादेखि १२ किलोमिटर तल नेचुङमा हिउँदमा स्थानीयबासीहरु जाडो छल्ने बेशी झर्ने भएकाले सुरक्षाकर्मी मात्रै हुन्छन् । नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा ४६ जनाको सुरक्षाकर्मीको टोली छन् । 

बीओपीका लागि सरकारले उपलब्ध गराएको ३३ रोपनी क्षेत्रफलको जग्गाभित्र निर्माण भएको उक्त भवन बनाउन सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले विंस २०७७ कात्तिकमा रु पाँच करोड ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

यसैबीच कोरला नाकामा अध्यागमन कार्यालयको पनि स्थापना भएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाख बजेटबाट गत आर्थिक वर्षमा सुरक्षाकर्मीहरुको आपतकालिन आश्रयका लागि निर्माण भएको भवनमा अध्यागमनको कार्यालय स्थापना भएको हो । 

बुधबारदेखि औपचारिक रुपमा सञ्चालन हुने अध्यागमन कार्यालय स्थापना भएपछि आवतजावत र अन्तरदेशीय व्यापारमा सहज हुने मुस्ताङका गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले बताए । 

भिसाका लागि पोखरा, काठमाडौँ जानु नपर्ने, सीमामा नेपाली सुरक्षा निकाय र कर्मचारीको नियमित उपस्थिति हुने भएको छ । २०८० कात्तिक २७ गतेदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रस्थान अनुमति पत्रको आधारमा कोरला नाकाबाट चिनियाँ बजारमा जाने आउने गर्दै आएका छन् । मुस्ताङका सबै पालिकाबासीलाई प्रस्थान अनुमतिपत्र प्रदान गर्ने काम अन्तिम चरणमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ