arrow

स्वार्थ पूरा भएपछि ट्रेड युनियनलाई बिर्सने प्रवृत्ति राम्रो होइन – अमरसिंह पुन

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
congress-trade-union-lumbini-81-7-23.jpg


बाँके । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले ट्रेड युनियनबाटै नेता भएकाहरुले अहिले ट्रेड युनियनलाई बिर्सिएको बताएका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले कोहलपुरमा आयोजना गरेको जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेतृत्वमा पुग्ने र आफ्नो स्वार्थ पूरा भइसकेपछि ट्रेड युनियनलाई बिर्सने प्रवृत्ति छ । यो राम्रो होइन ।’

उनले नीति निर्माण र कार्यान्वयन तहमा भएकाहरुले श्रमिक ऐनलाई कार्यान्वयन गर्नुपर्ने बताए । पुनले कांग्रेसले थुप्रै राम्रा काम गरेको उल्लेख गरे । तर आम नागरिकलाई बुझाउन भने नसकेको बताए । 

शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा कांग्रेसले उल्लेखनीय काम गरे पनि प्रचार हुन नसकेको उनले बताए । सामाजिक सुरक्षा ऐन कांग्रेसकै पालामा भएको पनि पुनको भनाई छ । पूर्वाधार विकासदेखि जनजीविकाका सवालमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको पुनले बताए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसले प्राप्त गरेको सफलता मजदुर आन्दोलनकै बलमा भएको बताए । उनले अहिले पनि मजदुरहरुले नेपाल सरकारले तोकेको ज्याला पाउन नसकेको भन्दै अब कांग्रेसले समान ज्याला दिलाउनका लागि पहल गर्ने उल्लेख गरे । 

उनले मजदुरहरुको समस्या सम्बोधन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताए । उनले आफू मजदुरहरुकै साथमा रहेको पनि बिश्वास दिलाए ।

यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष गणेश केसीले मुलुक संघीय संरचनामा गएसंगै ट्रेड युनियनले उठाउँदै आएको सौदाबाजी र संवाद मुद्दा रोकिएको बताए । 

उनले नीति निर्माण तहमा अहिले यो विषयमा छलफल नै हुन नसकेको समेत उल्लेख गरे । अहिले ट्रेड युनियन अधिकार प्राप्तिको बाटो सहज नभएको उनको भनाई छ । राजनीतिक अवस्था नै असहज तरिकाले गुज्रिरहेकाले स्वभाविक रुपमा ट्रेड युनियन अधिकार प्राप्तिको बाटो पनि सहज नहुने उनले बताए । उनले आवद्धता भएका संघ संगठनले विधान अनुसार आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन सुझाव पनि दिए ।  


यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य रामबहादुर मल्लले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको उल्लेख गरे ।

उनले विधि र विधानमा टेकेर नेपाल ट्रेड युनियनलाई चलाउन सकियो भने श्रमिक मुद्दालाई स्थापित गर्न सकिने बताए । यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्र केसीले बिगतकै समस्या अहिले पनि ट्रेड युनियनको मुद्दा बन्नु बिडम्बना भएको बताए । 

मुलुकमा तीन तहको सरकार बनेर कार्यान्वयनमा आइसक्दा समेत श्रमिकका समस्या सम्बोधन गर्नतर्फ स्थानीय सरकारले समेत प्रभावकरी भूमिका निर्वाह नगरेको बताए ।  

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियनकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले ट्रेड युनियन मुद्दालाई कांग्रेसले न्यायोचित रुपमा सम्बोधन गर्नुपर्ने बताए । 

उनले औपचारिक भन्दा पनि अनौपचारिक सेवा क्षेत्रमा काम गर्ने श्रमिकका सवालमा ट्रेड युनियन कांग्रेसले एजेन्डा बनाएर काम गर्नुपर्ने बताए । यस्तै कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले अझै धेरै ठाउँमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम ऐन प्रभावकारी लागू नभएका अबस्थामा कोहलपुर नगरपालिकाले भने त्यसको कार्यान्वयनका लागि पहल सुरु गरेको बताइन् । 

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष लक्ष्मी पौडेल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद जैशी, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका सचिव हिम केसी, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्मा लगायतले बोलेका थिए । 

नेपाल ट्रेड युनियन कांग्रेसबाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र विकको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष नरेश श्रेष्ठले आर्थिक तथा सचिव शिवध्वज शाहीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ