- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिने भएको हो ।
उनको हिरासतमा बस्ने म्याद २४ गते शनिबार नै सकिएको छ । छठ पर्वको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।
उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदैछ । साथै मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पनि आज अदालत उपस्थित गराइँदैछ ।
सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालतल ४ कात्तिकमा छ, ८ कार्तिकमा सात र २० कात्तिकमा १० दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको शर्माले जानकारी दिए । लामिछानेलाई रुपन्देही पठाउने विषयमा छलफल भइरहेको शर्माको भनाइ ।
लामिछानेलाई आज अदालतले म्याद थप गरिदिए केही दिनमा र रिहा गर्ने निर्णय गरे आजै पक्राउ गरी रुपन्देही पठाइने सम्भावना रहेको डीएसपी शर्माले बताए ।
सूर्यदर्शन सहकारीको मुद्धामा छविलाल जोशीसहित अन्य दुई जना पनि हिरासतमै रहेकाले लामिछाने रिहा हुने सम्भावना कम रहेको बताइन्छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । छविको दशैँ र तिहार प्रहरी हिरासतमै बितेको थियो । उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई पनि २० कात्तिमा पाचौँ पटक १० दिनको म्याद थप भएको थियो ।
यस्तै, सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लीला पछाइलाई पनि अदालतले २० कात्तिकमै १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
यता, रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।
सभापति लामिछानेलाई पक्राउ परी पोखरा ल्याइएसँगै रास्वपाले पोखरा र काठमाडौँमा आन्दोलन जारी राखेको छ । शुरुआती दिनमा पोखरामा केन्द्रित भएको आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित गरेको थियो ।
त्यसबीचमा सभापति लामिछाने छुटाउन रास्वपाका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ठूला नेतासँग भेटघाट र संवाद गरेका थिए । तर लामिछाने छुटाउन कसैले पनि चासो नदिएपछि रास्वपा पुनः सडक आन्दोलनमै ओर्लिएको थियो ।
पछिल्ला समयमा रास्वपाका नेताहरुले उत्तेजनात्मक अभिव्यक्ति दिँदै आएका छन् ।
रास्वपाले शनिबार फेरि दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।