arrow

वीरगञ्ज भन्सारको मिलेमतोमा भएको लाखौँको चुहावट गुपचुप राख्ने प्रपञ्च रच्दै राजस्व अनुसन्धान विभाग

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
birjung-bhansar-karyalaya-custom-office.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयकै मिलेमतोमा भएको लाखौँ रुपैयाँको राजस्व चुहावटको एक घटनालाई प्रधानमन्त्री कार्यालयको जोडबलमा गुपचुप राख्ने प्रपञ्चको पर्दाफास भएको छ ।

रसुवा भन्सार कार्यालयबाट छलाङ मारेर एकै पटक देशको प्रमुख भन्सार कार्यालयमा आउन सफल भएका  भाग्यमानी प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकको प्रत्यक्ष संलग्नतामा अन्नपूर्ण ट्रेड लिंकले पैठारी गरी ल्याएको पोलार कपडालाई मलमल भनेर जाँच पास गरी राजस्व छल्ने काम भएको तथ्य प्रमाणले पुष्टि गरेको छ ।

वीरगञ्ज भन्सार नाकाबाट पास भई गएको लगभग १२ हजार १०० किलो पोलार कपडासहित तीन वटा ट्रक राजस्व अनुसन्धान विभाग हरिहर भवनले आफ्नो नियन्त्रणमा लिएको १० दिन बितिसक्दा पनि कुनै कारबाही अगाडि बढाएको छैन ।

पोलार कपडामा किलोको दरले भन्सार लाग्ने नियम भए पनि मलमल भनेर मिटरको हिसाबले राजस्व असुल गरी राज्यलाई नोक्सान पुर्‍याई आफ्नो गोजी भर्ने काम गरिएको छ ।

पोलार कपडामा प्रतिकेजी अढाई अमेरिकी डलर भन्सार महसुल निर्धारण गरिएको छ भने मलमल कपडामा ९० सेन्ट कायम गरिएको भएता पनि वीरगञ्ज भन्सारका मूल्यांकन अधिकृत प्रकाश निरौला, नासु गोविन्द अधिकारी, जाँचपासमा संलग्न अधिकृत हिमलाल शर्मा र नासु श्याम मगरले ७५ अमेरिकी सेन्ट दस्तुर लिएर पास गरेका छन् ।

भन्सार ऐनको दफा ५७ को उपदफा ९ अनुसार यस्तो गम्भीर प्रकृतिको त्रुटि गरेर गोजी भर्ने कर्मचारीलाई अविलम्ब विभागीय कारवाही र व्यापारीलाई दुई सय प्रतिशत जरिबाना तिराउने नियमलाई धोती लगाउने अभियानमा प्रधानमन्त्रीको मातहतमा रहेको राजस्व अनुसन्धान विभाग लागेको पाइएको छ ।

यस सन्दर्भमा राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारी र वीरगञ्ज भन्सारका प्रवक्ता रघुकर्णसँग फोनमा बुझ्ने प्रयत्न गरे पनि दुवैले फोन उठाएनन् । 

भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले वीरगञ्ज भन्सारको बेथितिको बारेमा विभाग समक्ष कुरा आएको तर यो प्रकरणबारे आफूले जानकारी पाएको भएता पनि अहिले यो विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाले आधिकारिक रूपमा केही भन्ने अवस्था नरहेको बताए । 
 



नयाँ