निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेन- मन्त्री पौडेल [भिडियो]
हामीले गर्न नसकेको कि नचाहेको हो ? हामीलाई प्रश्न उठ्न सक्छ
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
654
Shares
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रममा उनले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गरे ।
उनले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताए । उनले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताए । उनले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको बताए । उनले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताए । उनले पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘ उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ । तर हामीले गरेको निर्णयलाई व्यवहारिक ढंगबाट पूर्णरुपमा कार्यान्वयन गर्न सकेका छैनौँ । त्यो मात्रै विषयले अब पुग्दैन । अरु विषय त्यहाँ जोडिएका छन् । सबैकुरा भइसकेको छ तर भएको महशुस हुन किन सकेको छैन । कहाँनेर समस्या छ । भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन । मलाई धन्यवाद दिन जलन पीडितहरु आउनुभएको थियो । बुहारीले छोरी जन्माइ भनेर उनको अनुहारमा एसिड छरिएछ । अहिले घरसँग सम्बन्ध छैन, उनले कसरी उपचार गरे, अहिले सामान्य सिलाइबुनाइको कार्यक्रम गरेर जीवन गुजारिरहनुभएको छ । दाइजो नपाएर त्यस्ता घटना थुप्रै भएका छन् । बलात्कारको घटना त एकदमै धेरै भइरहेको जस्तो देखिन्छ । महिला अधिकारको सम्बन्धमा नेपाल यस्तो देश हो, जुन देशमा पाल्र्यामेण्ट समावेशी छ । सबै पक्षमा समावेशी व्यवस्था सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बाबजुत पनि महशुस किन गर्न सकेका छैनौँ । इमर्जेन्सी सेवा त सबैलाई निःशुल्क हुनुपर्ने हो तर इमर्जेन्सीमा छिर्दा त... म स्वास्थ्यमन्त्री हुँ यो भन्न हुने हो की होइन थाहा छैन । इमर्जेन्सीमा छिर्दा टिकट काटेर आउ । टिकट काट्ने पैसा छैन भने जाउ । पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने हो । अनि त्यसपछि पैसा छ वा छैन भनेर सोध्ने हो ? यत्रा मन्त्रालय छन्, हामी यति धेरै छौँ । हामीले गर्न नसकेको की नचाहेको हो ? हामीलाई प्रश्न उठ्नसक्छ ।’