वारेस राख्ने सुविधासँगै लोकमान 'खेलाडी' भएको चर्चा!
प्रकाशित २०७३ पुष ८ शुक्रबार
1.8k
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वाेच्च अदालतले वारेस राख्न पाउने सुविधा दिएको छ । शुक्रबार सर्वाेच्चको पूर्ण इजलासले लोकमानका तर्फबाट वहस गर्ने अधिवक्ताले माग गरेबमोजिम उनलाई वारेश राख्ने सुविधा दिएको हो । न्यायाधीशहरू ईशोर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले यस्तो सुविधा दिएको हो ।
विहीबार तारेख बुझ्न जाँदा उनी विरूद्ध सर्वाेच्च परिसरमै आफूलाई अनेरास्ववियु (क्रान्तिकारी)का कार्यकर्ता बताउने दुई जनाले कालोमोसो दलेका थिए । कालोमोसो दलेसँगै १५ सय भन्दा बढी शब्दमा विज्ञप्ती जारी गर्दै कार्कीले चेतावनीमूलक शव्दमा नेताहरुको बस्त्र उतार्नगरी भ्रष्टाचारको विषय सार्वजनिक गर्ने बताएका थिए ।
साथै, त्यसैको दुईघण्टा पछि कार्कीले आफू अदालत जस्तो सुरक्षित स्थानमा हुँदा समेत आफू विरूद्ध आक्रमण भएको भन्दै अदालत जान पनि डराउने पर्ने अवस्था भएको व्यवहोरा सहितको विज्ञप्ती जारी गरेका थिए ।
उनको यो विज्ञप्तीसँगै यो लोकमान सिंह कार्की आफैंले खेलेको खेल रहेको भन्दै विभिन्न टीकाटिप्पणी सुरु भएको थियो ।
त्यस्तै, शुक्रबार विहान कार्कीले कालोमोसो दलेपछि तेस्रो पटक विज्ञप्ती निकाल्दै आफूलाई कालोमोसो दल्नेहरु अबोध कारिन्दा रहेको भनेर उनीहरुलाई रिहाईको माग गरेका थिए । यो विज्ञप्तीबाट त झनै सामाजिक सञ्जालमा उनी विरूद्ध यावत लाञ्छनाहरु लगाउन सुरू भईसकेको थियो ।
यसरी, उनको कालोमोसो पछिको तेस्रो विज्ञप्तीसम्म उनले अदालतमा आउन आफू असुरक्षित रहेको अनुभूति भएको प्रमाणित गर्न भरपुर प्रयास गरेको र त्यसमा उनी सफल भएको चर्चा बजारमा चलेको छ ।पञ्चायत कालदेखि नै निजामती कर्मचारीमा प्रवेश गरेका उनी राजाको प्रत्यक्ष शासन कालमा समेत मुख्य सचिव भएका लोकमान साना तथा ठूला राजनीतिक खेल खेल्न माहिर रहेको चर्चा चल्ने गरेको छ ।
उनी विरूद्ध अख्तियार प्रमुख बन्नेबेलादेखि नै राजनीतिक दललाई आफ्नो काबूमा राख्न सफल भएका उनी अहिलेको संवैधानिक जटिलतालाई अझै चुल्याएर प्रधानमन्त्री समेत बन्ने प्रयासमा रहेको आरोप समेत लाग्ने गरेको थियो ।
यस्तै खेलमा सफल रहेको उनले कालोमोसो दल्न पनि आफैले लगाएको चर्चा अहिले चुलिएको छ ।