arrow

सङ्खुवासभामा खानेपानीको हाहाकार

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
sankhuwasabha,,.jpeg

संखुवासभा (चैनपुर), ८ पुस । सङ्खुवासभाका मुख्य बजारमा खानेपानीको समस्या रहेको छ । जिल्लाको बढी जनसङ्ख्या रहेको चैनपुर र खाँदबारी नगरपालिका तथा तुम्लिङटार, आँखीभूई गाविसलगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ ।

जिल्लाको उच्च स्थानमा रहेका यी बजार छेउमा खानेपानीको स्रोत नहुँदा समस्या देखिएको हो । चैनपुर नगरपालिका– ८ की विष्णुमाया श्रेष्ठ बिहान– ४ बजे उठेर एक घन्टा टाढा धारामा गएर पानी ल्याउने गरेको बताइन् । उनले भनिन्, “धेरै टाढा गएर दुई घन्टा लाइन बसेर खानेपानी ल्याउँछु साह्रै समस्या छ ।”

विसं २०४० मा ३० वटा धारा जडान भएको चैनपुर क्षेत्रमा विसं २०६० मा ४०० घरधुरीमा पानीको धारा जडान गरिएको थियो । पानीको मुहान सानो र घरपिच्छे धारा जडान गरिएको हुँदा पानी कम भएको चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टङ्कप्रसाद शर्मा पौडेल बताउँछन् ।

पानी कम भएको कारण दैनिक तीन गाग्री पानी भर्न पाउने गरेको चैनपुरका लालबहादुर तामाङ बताउँछन्। पानी प्रयोग गरेबापत त्यस क्षेत्रका बासिन्दाले समितिलाई मासिक रु एक सय ७५ बुझाउँदै आएका छन् ।

चैनपुर नगरपालिका– १२ का रामकुमार कर्माचार्यको पनि पीडा उस्तै छ । लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उनलाई धारामा पानी नआउँदा सबैभन्दा धेरै मार हुने गरेको छ । होटल व्यवसाय गर्दा धेरै पानी आवश्यक हुने हुँदा मासिक रु १५ हजारको तीन ट्याङ्कर पानी किन्ने गरेको उहाँले बताए।

उक्त क्षेत्रको पानीको मुहान जान ८ देखि १० घन्टा लाग्ने गरेको छ । बाटोमा खानेपानीको पाइप हुँदा समय समयमा बिग्रदा १० देखि १५ दिनसम्म पानी नआउने गरेको स्थानीयवासी बताउँछन् ।

खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय सङ्खुवासभाका प्रमुख रवीन्द्रनाथ देवले सङ्खुवासभा जिल्लाभर नै खानेपानीको समस्या रहेकाले खानेपानीको समस्या समाधान गर्न आफू लागिरहेको बताउँछन् ।

सोही क्षेत्रका सांसद दीपक खड्का अहिले खानेपानी तथा सरसफाइ राज्यमन्त्री बन्नुभएपछि जिल्लावासी खानेपानी समस्या समाधान हुनेमा आशावादी भएका छन् ।

राज्यमन्त्री खड्का मुलुकभर नै खानेपानीको समस्या रहेको बताउँछन् । उनी भन्छन्, “पहिलेको तुलनामा भूकम्पका कारण खानेपानीको मुहान सुकेको छ त्यसले गर्दा खानेपानीको समस्या भएको हो यसको समाधानका लागि मन्त्रालय जुटेको छ ।”

मन्त्रालयले तराईका जिल्लामा डिप बोरिङ र पहाडी जिल्लामा पम्प सिस्टमले दुई वर्षभित्र हरेक गाउँ÷गाउँमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम गरिरहेको राज्यमन्त्री खड्का बताउँछन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ