काठमाडौँ । “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कशप” आयोजना गरेको छ ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेको वर्कशप ३ दिनसम्म चलेको थियो । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्धश्यले आयोजना गरिएको थियो ।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन वर्कशप सम्पन्न भएको थियो । विभागीय प्रमुख तथा देशैभरबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्बेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आआफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी बहन गर्नुपर्ने बताइन् ।
उनले देशैभरबाट कम्पनीको दैनिक कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु, राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिबद्धता जनाए ।
यसैगरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकाले यसतर्फ सचेत रहन आग्रह गरे ।