arrow

 स्वस्थ्य नेता, खेलकुद र नेपालको भविष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
bishwaprakash-sharma-footba.jpg

काठमाडौँ । स्वस्थ्य जीवनका लागि खेलकुद अपरिहार्य हुन्छ । त्यही खेलकुदका लागि विभिन्न अभ्यास जरुरी हुन्छ । मनलाई एकाग्र बनाउनु जरुरी हुन्छ । अनि भेट्न सकिन्छ लक्ष्य । 

आफूलाई नियमित सन्तुलित राख्न सक्ने व्यक्तिलाई खेलकुद होस् वा राजनीतिक सक्रियता जता पनि सन्तुलित राख्न सजिलो हुन्छ । किनकि उसले नियमित ब्यायाम गरेको हुन्छ । 

ठीक त्यस्तै छन् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । उनको दैनिकी सहज छ । आफूलााई अनुशासनमा राख्छन् । अनि बिहानदेखि रातिको समयलाई व्यवस्थापन गर्छन् । 

यिनै सक्रिय राजनीतिका पर्याय विश्वप्रकाशले शनिबार आफूलाई राजनीतिक रुपलेमात्र हैन शारीरिक रुपले पनि तन्दुरुस्त रहेको प्रमाण पेश गरे । 

शनिबार भएको फुटसलमा विश्वप्रकाशले खेलेको शैली हेर्दा कुनै व्यवसायीक खेलाडीको भन्दा कम थिएन । यद्यपि उनी नियमित खेलाडी हैनन् र पनि उनका खुट्टाको चालले भने उनी व्यवसायीक खेलाडी भन्दा कम छैनन् भनेर देखाएका छन् । 

नेतामा हुनुपर्ने गुण पनि यस्तै हो । परेका बेलामा ऊ जहाँ पनि फिट हुन सकोस् । समाजले लायक भन्ने हुन सकोस् । यसमा विश्वप्रकाशले आफूलाई सधै एक स्टेप माथि नै राखेका छन् । 

स्पष्ट वक्ता, कुनै जालझेलमा नलाग्ने र पार्टीमा पनि एउटा नीतिमा रहेर निरन्तर डटिरहने । बस् खेलाडीमा चाहिने गुण पनि यिनै हुन् । 

हुनत अहिले नेपाली राष्ट्रिय फुटबलले लय समात्न सकेको छैन । व्यवसायीक रुपमा लागेकाहरु पनि भड्किएका छन् । तिनीहरुका लागि विश्वप्रकाश पर्याय बन्न सक्छन् । 

यो उदाहरण केबल ऊर्जा प्रदान गर्नका लागि मात्रै हो । कुरा यत्ति हो शारीरिक, मानसिक र बौद्धिक रुपले ‘फिट’ भएको व्यक्तिले नै देश हाँक्न सक्ने हो । त्यो प्रचुर क्षमता युवा नेता, कसैका बारेमा कटु नबोलीकनै राजनीति गर्न सकिन्छ भन्ने उद्धेश्य बोकेका विश्वप्रकाशमा देखिन्छ । 

आफ्नो मनलाई निरन्तर स्वतस्फूर्त र स्वस्थ्य राखेकै भएरै उनी गीतसंगीतसमेत भर्न सक्छन् । रचनासमेत गर्न सक्छन् । जीवन र जगत् पढ्न सक्छन् । अनि भड्किएका युवालाई समाजको ‘ऐना’ देखाउन सक्छन् । यस्तै जुझारुपनले नै देखाउने हो नेपालको सुन्दर भविष्य । अनुकरणीय विश्वप्रकाश ।

यस्तो थियो शनिबारको खेल–

मैत्रीपूर्ण फुटबल खेलमा राजनीतिक दलले कलाकारको टोलीलाई पराजित गरेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलको मद्धतले राजनीतिक दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । 

नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौँको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कूलमा भएको खेलको पहिलो हाफमै शर्माले दुई गोल गरेका थिए । 

हरियो जर्सीमा बल अगाडि बढाउँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ।

यस्तै भास्कर काफ्लेले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो । 

दोस्रो हाफमा भने तीन गोल भयो । राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एक–एक गोल थपे । यस्तै कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो ।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदानमा उत्रिएका थिए । यस्तै कलाकारबाट प्रमोद प्रसाईँ, भानुभक्त ढकाल, टिका भण्डारी, सरोज वली, प्रशान्त शिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए ।

अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित गर्यो । महिला ‘ख का लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बन्यो । 

अर्को खेलमा पेशा व्यवसायीले कर्मचारीमाथि ६–२ को शानदार जित हात पार्यो । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए । 

उनले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । राजनीतिक दलबाट यस्ता गतिविधि हुनु सराहनीय भएको उल्लेख गरे । 

सोही अवसरमा कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताए । 

विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए । 

उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

यता, प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि साविक मेचीनगरले जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । 

निकै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्याए । 

तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए । खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए । मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले पाखा लगायो । ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त गर्यो ।

उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो । उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । उनीहरू दुवै मेचीनगरका हुन् । मेचीनगरलाई फाइनलमा पु¥याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।

नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी   दिए ।

‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु । त्यो लिस्टबाट झापा १ को एक टिम बनाउने छौं । त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।



नयाँ