- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले पूर्व सभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनकाअनुसार सरकारले आज पूर्व सभामुख ढुङ्गानाको निधनमा शोक मनाउन मङ्सिर ३ गते सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
उनले भने, ‘प्रतिनिधि सभाका पूर्व सभामुख श्री दमननाथ ढुंगानाजीको ८३ वर्षको उमेरमा हिजो अपराह्न असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ । नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नको लागि उनले सभामुखको भूमिकामा रहेर निभाउनुभएको कामको उच्च कदर गर्दै स्व.ढुङ्गानाको निष्ठा र भावनालाई सबैले आत्मसाथ गर्नु नै उनप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्तिम सम्मान २०६६ चैत्र ४ को नेपाल राजपत्रमा प्रकाशित अन्तिम सम्मान सम्बन्धित खण्ड कको क्रमसङ्ख्या ४ क बमोजिम अन्तिम संस्कार गर्ने व्यवस्था मिलाउने । राजकीय सम्मानअनुसार अन्त्येष्टि हुन्छ । उनको निधनमा शोक मनाउन वि.सं. २०८१ साल मङ्सिर ३ गते सार्वजनिक बिदा दिने । नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’
पूर्व सभामुख ढुङ्गानाको मङ्सिर २ गते आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । पूर्व सभामुख ढुङ्गानाको निधनमा सरकारले शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।