- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।
ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए । “नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ”, उनले भने ।
त्यस्तै ढुंगानाको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झण्डा ओढाएका छन् । ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर कांग्रेस सभापति देउवासहितका नेताहरुले कांग्रेसको झण्डा ओढाएका हुन् ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरण पुगे ।
त्यस्तै अन्य दलका नेताहरुसमेत सानो गौचरण पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सुरक्षा निकायका प्रमुखहरुले पनि ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुङ्गानाको परिवारले जानकारी दिएको छ ।