- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको जीवन चरित्र सार्वजनिक रूपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्ने बताएका छन् । सोमबार सानो गौचरणमा स्व. ढुङ्गानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका उनले यस्तो बताएका हुन् ।
उनले स्व. ढुङ्गाना सादगी नेता रहेको बताए । उनले गत वर्ष पार्टी कार्यालयमा बीपीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा कांग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा सच्याउनुपर्ने आवश्यकताबारे उल्लेख गरेको स्मरण गर्दै नेपाली कांग्रेस पार्टी र नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनः विचार गर्नुपर्ने बताए ।
उनले भने, ‘उहाँ सादगी नेचरको मान्छे हो, उनको जीवन चरित्र सार्वजनिक रूपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्छ । त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पार्टीको निश्चित दायराभित्र अनेक घटनाहरू, उतारचढाव हुन्छन्, त्यसबारेमा केही भन्न चाहन्न । उहाँ नेपाली कांग्रेसको नेता हो । आज भन्दा एक वर्षअघि मात्रै हामी पार्टी कार्यालयमा एउटै कार्यक्रममा थियौँ । बीपीको जन्म जयन्तीको सन्दर्भ थियो । उहाँ नेपाली कांग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा कहीँ कतै कांग्रेस पार्टीले बाटो त बिराएको छैन भन्ने कुरा उठाउनुभएको थियो । उहाँको त्यो भनाइबाट मैले नेपाली कांग्रेस पार्टी र नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनः विचार गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । हाम्रो राजनीतिमा हठको बानी छ नि मैले भनेपछि त्यही कुरा सत्य र अन्तिम हो भन्ने कुरा । उनले त्यसलाई प्रश्रय कहिल्यै दिनुभएन । काम गर्दा गल्ती हुन्छ, त्यसको पुनरावलोकन गर्नुपर्छ र समयसापेक्ष बनाएर जनतामा जानुपर्छ भन्नुहुन्थ्यो । उहाँ गतिशील विचारको मान्छे हो ।'