arrow

विकासशील मुलुकमा स्तरोन्नतिका समयमा बाह्य बजारसँग प्रतिस्पर्धी हुने तयारी बढाउन अध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
chandra-dhakal-81-8-3.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

अति कम विकसित  मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएकोतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् ।
 
महासंघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नजिक आइरहेको बताए । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोगमार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । 

स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे । 

लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्धेश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापनासमेत गरेको छ । 

सो केन्द्रको आजै अध्यक्ष ढकालसहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गरे । 

सो केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ  ।
 



नयाँ