- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको विरोध प्रदर्शन भएको छ । अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो ।
प्रसाई साइबर अपराधमा प्रहरीको हिरासतमा रहेका कारणले पनि यो आन्दोलन भने सशक्त हुन सकेन । गत वर्ष आजकै दिन भने दुर्गा प्रसाई समूहले सडकबाटै गणतन्त्र फाल्ने भन्दै आन्दोलन चर्काएका थिए । सोही दिन एमालेले तीनकुनेमा सभा गर्दा दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन र सभा गरेको थियो ।
तर यसपालि भने प्रसाई प्रहरीको हिरासतमा रहेका कारणले पनि सशक्त प्रदर्शन भएन । यद्यपि सामान्य तरिकाले भएको प्रदर्शनमा स्वतस्फूर्त भेला हुनेहरु भने धेरै थिए ।
अभियन्ता रमा सिंहले आफूहरु मिलेर पहिले नै तय भएको प्रदर्शनको मितिलाई सम्बोधन गरेको बताएकी छिन् । उनले प्रसाई नियन्त्रणमा परेपछि भने यसअघिको जस्तो प्रदर्शन नहुने बताइन् ।
के भएको थियो गत वर्ष ?
गत वर्ष मंसिर ७ गते काठमाडौँ उपत्यकामा हिंसाले कुन रुप लिने हो र कति जनाको ज्यान जाने हो भन्ने चिन्ता थियो । एकातिर थियो एमाले र अर्कोतिर मेडिकल व्यवसायी दुर्गा प्रसाईं । एमालेको नेतृत्व युथ फोर्सका पूर्व अध्यक्ष महेश बस्नेतले गरेका थिए ।
युथ फोर्स अहिले नाम परिवर्तन भएर राष्ट्रिय युवा संघको नाममा चलिरहेको छ । र, दुर्गा प्रसाईंको नेतृत्वलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पनि साथ थियो ।
महेश बस्नेत मान्छे नकुटी गणतन्त्र टिक्दैन भन्थे । दुर्गा प्रसाईं शीर्ष दलहरुबाट देशले पार नपाउने भन्दै गणतन्त्र फालेर राजतन्त्र ल्याउनु पर्छ भन्थे । त्यही राजतन्त्रको नारा सुनेर राप्रपा पनि दुर्गा प्रसाईंको अभियानलाई समर्थन गर्न बाध्य भएको थियो ।
त्यो बेला रस्साकस्सी थियो । तर आँकलन गरिए विपरीत सुरक्षा निकायले अनिष्ट हुन दिएन । यद्यपि दौरासुरुवाल लगायो भने यो राजावादी हो भनेर सुरक्षाकर्मीले समातेर अपमानजनक काम भने गरेकै हो । जबकि दौरासुरुवाल राष्ट्रिय पोशाक हो भन्नेसम्म पनि भुले सुरक्षाकर्मीले ।
यसपालि गत साल नभएको दुर्घटना हुने सम्भावना छैन । किनकि प्रसाईंले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गलत तरिकाले भिडियो बनाएर बदनाम गर्न खोजेपछि उनीमाथि अनुसन्धान भइरहेको छ । उनी अहिले प्रहरीको हिरासतमै छन् ।
प्रसाईं हिरासतमा रहे पनि उनको समूह र उनीसँग जोडिएको विभिन्न राजावादीहरुको समूहले निरन्तरताका रुपमा कार्यक्रम गरेको हो ।
उनले गत वर्षदेखि थालेको अभियान कायमै राखेका छन् । साथै उनका एजेन्डा बदलिएका छैनन् । उनका तिनै एजेन्डाले अहिले निरन्तरता पाउँदैछन् । उनी यसअघि एमालेको राजनीति छाडेर राजसंस्थाको आन्दोलनमा होमिएका थिए ।
उनी एमालेका केन्द्रीय सदस्य रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चा बटुलेदेखि नै उनी लाइमलाइटको राजनीतिमा छन् ।
त्यसैले उनले गत वर्ष मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन थालेका थिए । उनले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन भएको थियो ।
त्यसकै वार्षिक कार्यक्रमले अहिले निरन्तरता पाएको हो ।