- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गरेका छन् । शनिबार बिहान मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गरेका द्विवेदीले दिउँसो पोखरा भ्रमण गरेका हुन् ।
पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गर्दै उनले वीरता पुरस्कार विजेता एवं वीर नारीलाई सम्मान गरे ।
सोक्रममा उनकी धर्मपत्नी एवं सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष सुनीता द्विवेदी पनि सहभागी थिइन् ।
द्विवेदीले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरे ।
उनले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको पनि भ्रमण गरे । द्विवेदीले पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र उनका स्टाफ अफिसरसँग अन्तरक्रिया गरेको थिए ।
शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् मुस्ताङ पुगेका सेनाध्यक्ष द्विवेदीले सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथको दर्शन गर्नेक्रममा १०८ धारामा जलसेचन गरे । मुक्तिनाथ भ्रमण दलमा चार जना महिला पनि समावेश थिए ।
द्विवेदीलाई मुस्ताङको जोमसोमस्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्च शिखर शिक्षालयका महासेनानी खेमराज शर्माले स्वागत गरेका थिए ।
मुक्तिनाथमा उनको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।
द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताइएको छ ।
द्विवेदीले अरु सामान्य नागरिक जस्तै मुक्तिनाथ मन्दिरको दर्शन गरे । उनले मुक्तिनाथ परिसरमा एक घण्टा ५० मिनेट बिताएका थिए ।