- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । उपपधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताए।
उनले फोहर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गरे । उनले देशको राजधानीकै फोहर व्यवस्थापन गर्न नसक्नेले अरू के कुरा व्यवस्थापन गर्नसक्छौं ? भन्दै प्रश्न गरे । उनले फोहर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृत्ति गलत भएको पनि बताउनु भयो । फोहर व्यवस्थापनको विषयमा हुने छलफल मात्र समाचारका शीर्षक बन्ने गरेको भन्दै छलफलपछि चालिएका कदमहरूबारे समेत समाचार बन्नुपर्नेमा उनको जोड थियो । सङ्घीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
मन्त्री सिंहले भने, ‘काठमाडौं उपत्यकाको पोहोर मैलाको व्यवस्थापन गर्नको लागि धेरै समय गइसकेको छ । स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौँ । छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो । छलफलपछि के एक्सन भए भन्ने विषयका समाचारहरू बन्न आवश्यक छ । सङ्घीयताको स्पिरिटअनुसार तीन तहको जुन सरकार छ । कुनै पनि सरकारले मिनिमाइज नगरीकन निर्णय गरेर फोहर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनपर्छ । पोहोर मैलामा राजनीति गरेर त भएन नि त । कुरा गर्दाखेरि आदर्शको कुरा गर्ने काम चाहिँ ठिक विपरीतको गर्ने ? त्यो त ठिक भएन नि । देशको राजधानीकै फोहरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरू के कुरा व्यवस्थापन गर्न सकौँला त ? यो पोहोर मैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे संघीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थानीय सरकार नै किन नहोस् ।’