arrow

बोटबाटै सुन्तला झर्न थालेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
orange-tree.jpg

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।   सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । 

बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । 

“बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्”, बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भने, “बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।”

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । 

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । “दानाभित्र औसा परेर सुन्तला झरेको छ”, उनले भने, “सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हाँै । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।” 

बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप (पासो) थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् । 

दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताए । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । 

धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगँैचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताए । जिल्लाको सुन्तला पोखरा, काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनले बताए । 

केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ । यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताए । 



नयाँ