तोलाको डेढ लाखमा झर्यो सुन, सरकारले भन्सार महसुल घटाएपछि १६ हजारले कमी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
735
Shares
काठमाडौँ । नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ।
यस्तै चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ।
मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो।
कति पुग्यो भाउ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।