arrow

काँग्रेसले सरकारलाई भन्यो–‘तत्काल स्थानीय निर्वाचन घोषणा गर’

logo
प्रकाशित २०७३ पुष १० आइतबार
congress-party-office-1.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने विषयमा छलफल भएको महामन्त्री शशाङ्क कोइरालाले जानकारी दिए ।

निर्वाचन स्थानीय निकायको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा काँग्रेसले पुरानै संरचना अर्थात् निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको महामन्त्री कोइरालाले बताए ।

काँग्रेसले जसरी भए पनि स्थानीय निर्वाचन गराउन सरकारसँग माग गरेको छ । स्थानीय निर्वाचन घोषणा गर्दा हाल व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएका एमालेलगायत विपक्षी दलमाथि संसद् खोल्न दबाब पर्ने काँग्रेसको निष्कर्ष छ ।

निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा काँग्रेसले एमाले, माओवादी केन्द्रलगायत दलसँग छलफल गरी राष्ट्रिय सहमति खोज्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

संविधान संशोधन विधेयकमाथि संसद्मा छलफल गर्न दिनुपर्ने पनि पौडेलको भनाइ छ । संसद् खोल्ने सम्बन्धमा काँग्रेसले सबै दलसँग छलफल सुरु गर्ने निष्कर्ष निकालेको छ । सोमबार पनि बैठक बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ