arrow

अब सामान्य ज्ञान घोकेकै आधारमा सरकारी जागिर खान मुस्किल !

पाठ्यक्रम परिमार्जन गरिँदै

logo
प्रकाशित २०७३ पुष १० आइतबार
loksewa.png.png
काठमाडौं । सरकारी जागिर खान चाहनेहरुले अब सामान्यज्ञान घोकेकै आधारमा सरकारी जागिर खान मुस्किल पर्ने भएको छ । अहिलेसम्म कुनैपनि व्यक्तिले सरकारी जागिर खानको लागि सबैभन्दा कठिन काम के लाग्ला ? सबैलाई थाहा छ लोकसेवा आयोगले लिने परीक्षामा सामान्यज्ञानका प्रश्नहरु नै सबैलाई सरकारी जागिरको लागि सबैभन्दा कठिन बन्ने विषय हुन् । तर, अब भने सामान्यज्ञानको चिन्ता लिनेहरुको लागि धेरै हदसम्म समस्या समाधान हुने भएको छ । 
 
लोकसेवा आयोगका विभिन्न तहका परीक्षालाई व्यवहारिक बनाउनको लागि आयोगले यही वर्षदेखि विभिन्न तहका परीक्षाको लागि पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको आयोगले जनाएको छ । आयोगका प्रशासन शाखा प्रमुख उपसचिव सूर्य सापकोटाले आयोगले लिने परीक्षाका प्रश्नहरु समयानुकूल परिमार्जन गर्नको लागि विस्तारै सबै तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने तयारी भईरहेको जानकारी दिए । 
 
उनका अनुसार अब अधिकृत तथा यस भन्दा तल्लो तहको परीक्षामा सामान्यज्ञानको हिस्सा कटौती गर्ने तयारी भईरहेको छ । अब यस्ता परीक्षामा बढीमा २० प्रतिशत सम्म मात्रै सामान्यज्ञानका प्रश्नहरु सोधिनेछन् । बाँकी सबै व्यवहारिक प्रश्नहरु सोधिने भएकोले अब सरकारी जागिर खानको लागि सामान्यज्ञानको प्रश्नहरु मात्रै भन्दा पनि व्यवहारिक ज्ञान समेत आवश्यक पर्ने भएको हो । 
 
यस वर्ष सहसचिवको खुल्ला (अप्राविधिक) परीक्षामा नयाँ पाठ्यक्रम अनुसार प्रश्नसोधिएको छ । सापकोटाले उपसचिवको पनि यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू गर्ने तयारी भईरहेको बताएका छन् । त्यस्तै, अधिकृत तह पाठ्यक्रम भने आगामी वर्षदेखि परिमार्जन गर्ने र त्यसभन्दा तल्लो तहमा पनि विस्तारै पाठ्यक्रम परिमार्जन गर्ने तयारी भईरहेको उनले स्पष्ट पारे । 
 
सहसचिवहरुको तह भनेको नीति तथा कार्यदिशा निर्माण गर्ने तह भएकोले यो तहमा सोही अनुरुपको प्रश्नसोधिएको भन्दै परीक्षार्थीहरुले भने लोकसेवा आयोगको प्रसंशा गरेका छन् । उनीहरुले लोकसेवाले परम्परागत पाठ्यक्रम परिमार्जन गरी नयाँ पाठ्यक्रम लागू गरेकोमा खुशी व्यक्त गर्दै यसले कर्मचारीहरुको क्षमता अभिवृत्तिमा सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरे ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ