भक्तपुर । नेपाली काँग्रेस, नेकपा ओवादी केन्द्र र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवास भक्तपुर सानोठिमीमा अध्यक्ष ठाकुर, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । भेटपछि तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताए ।
भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिए । सभामुख ओनसरी घर्तीले सहमतिका लागि संसदमा १० सिट भएका दलहरुको संयुक्त बैठक आह्वान गरेकाले वातावरण बनाउन भन्दै तीन नेताबीच भेटवार्ता भएको बताइएको छ ।